पर्यटन मन्त्रीसँग नाट्टाकाे माग: निगमलाई १० वटा विमान चाहियाे

काठमाडौं, २० साउन । नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल (नाट्टा) ले सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई भेट गरी १२ बुँदे सुझाव पेश गरेको छ ।

नाट्टाको अध्यक्ष सीएन पाण्डेको नेतृत्वमा गएको टोलीले सोमबार बिहान मन्त्रालयमा नवनियुक्त मन्त्री भट्टराईलाई भेटी कार्यकालकाे शुभकामना दिँदै १२ बुँदे सुझाव पत्र समेत दिएको हो ।

नाट्टाले पर्यटन सवारीसाधनहरुमा प्रयोग हुने डिजल इन्धन र एलपी ग्याँसमा दिँदै आएको भ्याट फिर्तालाई निरन्तरता दिनुपर्ने, नेपाल भ्रमणा वर्षलाई मध्यनजर गरी त्रिभुवन विमानस्थललाई २४ सै घन्टा सञ्चालन गर्नुपर्ने, नेपाल वायुसेवा निगमलाई इयुको कालोसूचीबाट हटाउनको लागि सेफ्टी अडिट गराई थप अन्तराष्ट्रिय गन्तव्यमा उडान थप्नुपर्ने पनि सुझाव दिएको छ ।

साथै थप चारवटा न्यारो बडी र दुई वटा वाइडबडी गरी जम्मा १० वटा विमान खरीद गर्ने व्यवस्था मिलाउन पनि माग गरेको छ ।

काठमाण्डौंबाट लामो दुरीमा चल्ने पर्यटन नम्बर प्लेटका बसहरुको प्रस्थान र आगमन टर्मिनल नभएको हुंदा यस क्षेत्रले बारम्बार विभिन्न समस्याहरु झेल्नु परेको भन्दै काठमाण्डौं लगायत देशका प्रमुख पर्यटकीय शहरहरुमा नेपाल सरकारद्वारा उपयुक्त स्थल चयन गरी टुरिस्ट बस टर्मिनलको अविलम्व निर्माण गर्ने व्यवस्था गर्न पनि नाट्टाले सुझाव दिएको छ ।

त्यस्तै इ सेवा, आईएमइ पे, खल्ती जस्ता अनलाइन एजेन्सी र दर्ता नगरी सञ्चालनमा रहेका अवैध कम्पनीहरुबाट भएका इटिकेटिङ गर्ने कम्पनीहरु माथि नियमन गर्न माग गरेको छ ।

यसैगरी नेपाल भ्रमणमा आउन चाहने पर्यटकहरुलाई अनलाइन भिसा उपलब्ध गराउन पनि नाट्टाको माग रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here