गौतमबुद्ध विमानस्थल: अन्तर्राष्ट्रिय उडान ठप्प, राष्ट्रिय उडान न्यून

काठमाडौं । जेठ २ गतेदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अहिले सुनसान छ । अन्तर्राष्ट्रिय उडान ठप्प छ भने राष्ट्रिय उडान पनि न्यून हुँदा विमानस्थलमा चहलपहल न्यून भएको हो।

आन्तरिक टर्मिनलतर्फ केही चहलपहल देखिए पनि अन्तर्राष्ट्रिय टर्मिनलतर्फ कर्मचारीदेखि सुरक्षा निकायका कर्मचारी फुर्सदिला देखिएका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानको स्वीकृति लिएको जजीरा एयरलाइन्सले अहिले काठमाडौँबाट नै आफ्नो उडान गरिरहेको छ । भैरहवाबाट उड्न टिकट काटेका यात्रुलाई जजीराले बसमार्फत काठमाडौँ बोलाएर उतैबाट उडान गरिरहेको छ ।

विमानस्थल निर्माणपछि यहाँका निजी क्षेत्र निकै उत्साही देखिएका थिए । जसको फलस्वरूप यहाँ अर्बाैको लगानीमा होटल तथा पर्यटनसँग सम्बन्धित अन्य पूर्वाधार निर्माण गरिएका छन् । विमानस्थल सञ्चालनमा आएको अन्योलका कारण यहाँका निजी क्षेत्र पनि निराश छन् । विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रबाट जुन प्रकारको पहल हुनुपर्ने हो त्यो भने हुन सकेको छैन ।

विमानस्थल सञ्चालनसँग जोडिएको सुविधा यहाँ नहुँदा पनि हवाई कम्पनीले उडानमा चासो दिएका छैनन् । भैरहवामा श्रम कार्यालय खुले पनि यसमा सहयोग गर्ने मेनपावर, भिसा सेन्टर, स्वास्थ्य परीक्षणलगायत सुविधा नहुँदा यात्रु काठमाडौँबाट नै उडान भर्न रुचाउने गरेका छन् । यी सुविधा ल्याउन यहाँका निजी क्षेत्रमा कुनै चासो नै छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here