‘सरकारले आईटी क्षेत्रलाई प्राथमिकतामा नराख्दा सुरक्षामा चुनौति बढ्यो’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले आईटी क्षेत्रलाई प्राथमिकतामा नराख्दा सुरक्षामा चुनौति बढेको बताएकी छिन् ।

कम्प्युटर एसोसिएसन अफ नेपाल(क्यान महासंघ)द्वारा आयोजित २८ औं सम्स्करणको क्यान इन्फोटेकको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् ।

सरकारले आईटी क्षेत्रलाई प्राथमिकतामा नराख्दा यहाँका दक्ष जनशक्ति विदेश पलायन भइरहेको र यसले गर्दा यहाँको आईटी क्षेत्र विदेशी जनशक्तिको हातमा परेको उनको भनाइ थियो । ‘हामीले आफ्ना जनशक्ति जोगाउन नसक्ने र आफूलाई आवश्यक पर्दा बाहिर (विदेश) बाट मान्छे ल्याउनुपर्ने स्थिति भइरहेको छ,’ उनले भनिन्, ‘यसले गर्दा हाम्रा डेटा सेन्टर र प्रविधिको काम गर्ने निकायको सुरक्षाको मुल साँचो हामीसँग छैन । मुल साँचो नै आफूसँग नहुँदा हामीले कसरी राष्ट्रियता बचाउन सक्छौँ ?’

उनले आजको युग सूचना प्रबिधिको युग भएकाले सूचना प्रविधिको कारणले आज विश्व एउटा हत्केलामा अट्ने भएको बताइन् । जसका कारणले यसको महत्त्व दिनप्रतिदिन बढिरहेको उनको भनाइ छ ।

आफू मन्त्री भएको एक महिना पुग्न लागेको भन्दै उनले सूचना प्रविधिको क्षेत्रबाट महत्त्वपूर्ण काम गर्न सक्दा रहेछौं भन्नेबारे थप जानकार हुँदै गएको बताइन् । प्रविधिको प्रयोगले राजस्व बच्ने तथा राजस्वबाट अरबौ रकम बाहिरिने काम रोक्न ठूलो योगदान गर्ने उनको दाबी छ।

राज्यको उच्च प्राथमिकतामा रहेर प्राविधिक जनशक्ति तयार गर्ने र यस क्षेत्रलाई अगाडि बढाउन नसकेको उनले बताइन् । थुप्रै डेटा सेन्टर र प्रबिधी सेन्टर भए पनि त्यसको मुख्य नियन्त्रक हाम्रो हातमा नभएको उनले बताइन् । यसले हामीलाई असर गर्ने कुरामा दुईमत नभएको उनले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here