रहिनन् चर्चित भारतीय नेतृ सुषमा स्वराज, यस्ताे छ उनकाे जीवनी

नयाँ दिल्ली, २२ साउन । चर्चित भारतीय राजनीतिज्ञ तथा महिला नेतृ सुषमा स्वराजको हृदयघातका कारण निधन भएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा उनी विदेशी मन्त्री भएकी थिइन् । विदेश मन्त्रीका रुपमा खासगरी नेपाल मामलामा उदार मन्त्रीका रुपमा उनको छवि सकारात्मक पक्ष थियो ।

६७ वर्षको उमेरमा उनको निधन भएको हो । मंगलबार अबेर हृदयघात भएपछि उनलाई दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो ।

तर, राती डाक्टरले मृत घोषणा गरे । बीजेपीको वरिष्ठ नेतृत्वका रुपमा उनले भारतीय राजनीतिमा ठूलो योगदान दिएकी छिन् ।

उनी आफ्नो शानदार भाषण शैलीका कारण पनि छिट्टै प्रभावित पार्न सक्ने नेताका रुपमा स्थापित थिइन् । विदेश मन्त्रालयको जिम्मेवारीमा रहँदा उनले प्रवाशमा रहेका भारतीयको उद्दारमा निकै ठूलो योगदान गरेको भारतीयहरु मान्दछन् ।

प्रधानमन्त्रीसहित भारत र विदेशबाट उनको निधनमा शोक जनाउने क्रम जारी छ । उनको आजै अपरान्ह तीन बजे अन्तिम संस्कार गरिने भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।

सुषमा स्वराज सानो उमेरमै सफल राजनीतिज्ञको छवि स्थापित गरेकी नेतृ हुन् । उनी २५ वर्षको उमेरमै भारतीय जनता पार्टीको तर्फबाट स्थानीय निर्वाचनमा जीत हासिल गरेकि थिइन् ।

हरियाणा विधानसभा सदस्यमा जीत निकाल्दै उनी २७ वर्षको उमेरमै हरियाणा प्रदेश अध्यक्ष बन्दै संगठनको नेतृत्वमा आएकी थिइन् । सन् १९८७ देखि ३ वर्ष उनले हरियाणा राज्यमा शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् ।

सन् १९९० मा राज्यसभा सदस्य भएकी उनी सन् १९९६ मा संसदीय निर्वाचन जित्दै केन्द्रिय राजनीतिमा आउन सफल भइन् । उनी तत्कालिन वाजपेयी सरकारमा उनी सूचना तथा प्रसारण मन्त्रालयको जिम्मेवारीमा आइन् ।

सन् १९९८ मा पनि उनी निर्वाचनमा सफल भईन र सूचना एवं प्रसारण मंत्रीको जिम्मेवारीमा आइन् । यस दौरान उनले चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिएकी थिइन् । त्यसपछि चलचित्र निर्माताले बैंकबाट कर्जा प्राप्त गर्न थालेका थिए ।

उनी सन् १९९८ मै दिल्लीको पहिलो महिला मूख्यमन्त्री बन्न सफल भईन् । यसै वर्ष उनले विधानसभाबाट राजिनामा गरिन् र फेरी राष्ट्रीय राजनीतिमा आउने प्रण गरिन् ।

सन् १९९९ मा कांग्रेसकी तत्कालीन अध्यक्ष सोनिया गांधीविरुद्ध निर्वाचन लडिन् । यस पटक भने उनले हारिन् । सन् २००० मा उत्तरप्रदेशबाट राज्यसभा पुगिन् ।

त्यसपछि भने उनले राजीतिमा कहिले पनि पछाडी फर्केर हेर्नु परेन् । १५ औं लोकसभामा विपक्षी दलको नेतामा निर्वाचित भईन् ।

सन् २०१४ मा मोदी सरकार आएपछि पहिलो विदेश मन्त्री बनेकी उनी स्वास्थ्य समस्याका कारण कुनै पदमा बस्न भने मानिनन् । उनको जन्म १४ फेब्रुअरी १९५३ मा भएको हो । प्रारम्भिक दिनमा वकालतसमेत गरेकी उनको परिवार पाकिस्तानमा बस्थ्यो ।

स्वराजको निधनमा देश तथा विदेशबाट श्रद्धान्जली आउने क्रम जारी छ । भारतीय कलाकार, खेलाडी तथा नेताहरुले देशले एक इमानदार नेता गुमाएको भन्दै दुख मनाउ गरिरहेका छन् ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here