परराष्ट्र मन्त्रीसँग भारतीय विदेश सचिवको भेटवार्ता, नयाँ हवाई रुट खोल्ने सम्बन्धमा छलफल

काठमाडौं, १ फागुन । परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले भारतका विदेश सचिव विनयमोहन क्वात्रासँग गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ अन्तर्राष्ट्रिय हवाई रुटका सम्बन्धमा छलफल गरेकी छिन् ।

मन्त्रालयमा आज भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सहयोगका विविध विषयका साथै हवाई रुट अनुमतिसम्बन्धमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

भेटमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै विकास सहायता अभिवृद्धि गर्नेलगायतका विषयमा छलफल भएको छ । विशेष गरी नेपालमा विकास सहायता वृद्धि गर्ने, लगानीको वातावरण बनाउने, कनेक्टिभिटी, द्विपक्षीय व्यापारमा देखिने समस्या हल गर्ने, विद्युत् व्यापारलगायतका विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री पौड्यालले जलवायु परिवर्तनका मुद्दामा अन्तर्राष्ट्रिय मञ्चमा दक्षिण एसियाका मुलुकको एउटै आवाजका लागि संयन्त्र बनाउने सम्बन्धमा समेत कुरा राखेको मन्त्रालयले जनाएको छ ।

भारतका विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि सोमबार काठमाडौं आएका हुन् ।
विदेश सचिवको कार्यभार सम्हालेपछिको क्वात्राको यो पहिलो नेपाल भ्रमण हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here