नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र, मुख्य सुरुङ खन्ने काम ७४.२० प्रतिशत सकियो

काठमाडौं, ५ फागुन । राष्ट्रिय गौरव आयोजना नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ ।

कुल ५ हजार ४ सय ९९ मिटर खन्नुपर्ने उक्त सुरुङमार्गको काम तीव्र रुपमा अघि बढ्दा हालसम्म कामको ७४२० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ ।

नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार फागुन ५ गतेसम्म सुरुङ खन्ने काम ४ हजार ८३ मिटर पूरा भएको हो ।

आयोजनका अनुसार हालसम्म मुख्य सुरुङ अन्तर्गत ४ हजार ८३ मिटर मुख्य मध्ये हालसम्म १ हजार ७१० मिटर खनिसकिएको छ । काठमाडौंतर्फ मुख्य सुरुङ ८७१.८० मिटर र इभ्याकुएसन १११३ मिटर पुरा भएको आयोजनाले जनाएको छ।

धादिङतर्फ ९४१.२० मिटर मुख्य र ९५६.६० मिटर इभ्याकुएसन टनेल खन्ने काम पूरा भएको छ। धादिङतर्फ १ सय २६ मिटर अडिट टनेल पूरा भएको छ भने ७४.२० मिटर क्रस प्यासेज निर्माण भएको छ।

इभ्याकुएसन टनेल आपतकालीन अवस्थामा प्रयोगका लागि मुख्य सुरुङमार्गसँगै समानान्तर हुनेगरी बनाइने सुरुङ हो।

यसरी समानान्तर हुनेगरी खनिने स्केप टनेललाई प्रत्येक ३७५ मिटरमा सहायक बाटो (क्रस प्यासेज) ले मुख्य सुरुङसँग जोड्छ।

नेपालकै पहिलो सुरुङमार्गको रुपमा रहेको यस आयोजनाको काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ ।

टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।