भैरहवा विमानस्थलको निर्माण डिसेम्बर भित्रै सक्न पर्यटनमन्त्री भट्टराईको निर्देशन

भैरहवा, २३ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भैरहवामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलको निर्माण समयै सकिने बताएका छन् ।

बिहीबार रुपन्देहीको भैरहवामा निर्माणाधिन विमानस्थलको निरिक्षण गर्दै अबको चार महिनाभित्र सम्पूर्ण काम सक्न निर्देशन दिएका हुन् ।

पर्यटनमन्त्री भट्टराईले प्रधामन्त्री केपी शर्मा ओलीले समेत विमानस्थल निर्माण र लुम्बिनीको विकासमा विशेष चासो दिएकाले पहिाले प्राथमिकतामा राखेर काम भइरहेको बताए।

आगामी डिसेम्बर महीनाभित्रै अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल निर्माणको काम पूरा हुने बताउँदै मन्त्री भट्टराईले भने ‘जुन हिसाबले काम भइरहेको छ, त्यो हिसाबले अबको चार महीनामा ती सबै काम पूरा हुन्छ ।’

कुनै पनि बहानामा विमानस्थल निर्माणको काममा ढिलाइ हुन नहुनेमा जोड दिँदै उनले विमानस्थललाई आवश्यक पर्ने निर्माण सामग्री स्थानीय तहले उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

सन् २०२० मा मनाउन लागिएको नेपाल भ्रमण वर्ष शुरु हुनु अगावै विमानस्थलको काम पूरा हुनुपर्ने भएकाले सोहीअनुसार काम गर्न निर्देशन उनले निर्देशन दिए ।

विमानस्थलमा भइरहेको कामबारे जानकारी गराउँदै विमानस्थल आयोजनाका प्रमुख इञ्जिनीयर प्रवेश अधिकारीले निर्माण सामग्रीको अभाव नभए समयमै काम पूरा हुने बताए ।

‘निर्माण सामग्री रोकिँदा बीचमा केही समस्या भयो । अहिले काम तीव्र रुपमा अगाडि बढेको छ’, उनले भने । धावनमार्ग तयार भएसँगै विमानस्थलमा जहाज अवतरण र उडान गर्न मिल्ने भएको उनले बताए । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here