राजधानीमा परीक्षण सकिएका नयाँ पाइपलाइनबाट खानेपानी वितरण

काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिच्छ्याइएका खानेपानीका नयाँ पाइपलाइनमध्ये करिव ३०० किलोमिटर नयाँ पाइपलाइनबाट नियमितरूपमा मेलम्चीको खानेपानी वितरण हुँदै आएको छ ।

अन्तिम परीक्षण सम्पन्न भएका क्षेत्रका उक्त पाइपलाइनबाट खानेपानी वितरण हुँदै आएको हो ।

काठमाडौं उपत्यकाका चक्रपथभित्रका अधिकांश क्षेत्रमा विच्छ्याइएका १,०१० किलोमिटर खानेपानीका नयाँ पाइपलाइनमध्ये करिव ५६० किलोमिटर पाइपलाइनको प्रारम्भिक परीक्षण सम्पन्न भएका छन् ।

तीमध्ये अन्तिम परीक्षण सम्पन्न भएका करिव ३०० किलोमिटर पाइपलाइनबाट नियमितरूपमा मेलम्चीको खानेपानी वितरण हुँदै आएको निर्देशनालयले जनाएको छ । अन्य क्षेत्रमा भने पुरानै पाइपलाइनबाट मेलम्चीको खानेपानी वितरण हुने गरेको छ ।

आयोजनाले काठमाडौं उपत्यकाका बाँकी क्षेत्रका नयाँ पाइपलाइनको पनि प्रारम्भिक र अन्तिम परीक्षण गर्ने कार्यलाई तीब्रता दिएको पनि प्रवक्ता चन्द्रकुमार पाँ श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार चालू आर्थिक वर्षको अन्त्यसम्ममा सबै नयाँ पाइपलाइनको परीक्षण कार्य सम्पन्न गरी आगामी आर्थिक वर्षदेखि नयाँ पाइपलाइनबाट नियमितरूपमा खानेपानी वितरण गर्ने लक्ष्य रहेको छ ।

निर्देशनालय अन्तर्गत काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिच्छ्याइएका नयाँ पाइपलाइनबाट मेलम्चीको खानेपानी वितरणको प्रारम्भिक परीक्षण गर्दा तेस्रो पक्षबाट क्षति भएका स्थानमा बाहेक अन्य स्थानमा चुहावट भएको नदेखिएको उनले बताए ।

‘मेलम्चीको खानेपानी वितरणका लागि विगतमा बिच्छ्याइएका तर मेलम्चीको पानी आइनसकेका कारण परीक्षण गर्न नपाइएका स्थानका नयाँ पाइपलाइनमा हाल मेलम्चीको पानी पठाई परीक्षण गर्दा तेस्रो पक्षबाट सडक तथा ढल निर्माण/मर्मत र विद्युतका केवल तथा टेलिफोनको तार भूमिगत गर्ने कार्य हुँदा क्षति पुगेका कारण चुहावट भएको पाइएको छ’, उनले भने , ‘त्यसरी तेस्रो पक्षबाट क्षति भएका पाइपलाइनको तत्कालै मर्मत गर्ने गरिएको र तेस्रो पक्षबाट क्षतिपूर्ति वापतको रकम सोधभर्ना लिने कार्य समेत अगाडि बढाइएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here