घरजग्गा रजिष्ट्रेशनबाट ८.२९ अर्ब राजस्व संकलन, गत वर्षको भन्दा साढे ३ प्रतिशतले बढ्यो

काठमाडौं २७, साउन । गत आर्थिक वर्षको पहिलो ६ महिनामा घरजग्गा रजिष्ट्रेशनबाट मात्र ८ अर्ब २९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस्तो राजस्व संकलन करिब साढे ३ प्रतिशतले बढेको हो ।

आर्थिक वर्ष २०७४/०७५ को पहिलो ६ महिनामा यस्तो राजस्व संकलन २१.७ प्रतिशतले घटेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष घरजग्गा कारोबारमा सामान्य सुधार भएकाले सो बापतको राजस्व संकलन बढेको राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

गत वर्षको पहिलो ६ महिनामा समग्र घरजग्गा रजिष्ट्रेशन संख्यामा १.१ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा सो संख्यामा २१.६ प्रतिशतले ह्रास आएको थियो ।

सो अवधिमा घर/भवन नक्सा पास संख्या २.७ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा घर÷भवन नक्सा पास संख्या २९.६ प्रतिशतले बढेको प्रतिवेदनले देखाएको छ ।

समिक्षा अवधिमा विराटनगर, जनकपुर, नेपालगन्ज र धनगढी क्षेत्रमा घर–जग्गा रजिष्ट्रेशन वृद्धि भएको छ, बाँकी सबै क्षेत्रमा घटेको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, विराटनगर, जनकपुर, पोखरा, नेपालगन्ज र धनगढी क्षेत्रमा घरजग्गा रजिष्ट्रेशन वापतको राजस्व वृद्धि भएको छ भने अन्य सबै क्षेत्रमा घटेको छ ।
पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी क्षेत्रमा घर÷भवन नक्सा पास संख्या वृद्धि भएको छ भने अन्य सबै क्षेत्रमा ह्रास आएको छ ।

विगत दुई वर्ष देखि सरकारले घरजग्गाको खरिदविक्रीमा कडाइ गर्दै आएको छ । सोही कारण गत वर्ष र अघिल्लो वर्ष घरजग्गाको रजिष्ट्रेशन मा कमी आएको थियो । घरजग्गाको रजिष्ट्रेशनमा कमी आएपछि सो क्षेत्रबाट हुने राजस्व संकलन पनि घटेको थियो ।

तर, गत वर्ष देखि रजिष्ट्रेशन र राजस्व संकलन विस्तारै बढदै गएको राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययनले देखाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here