बहुदल भन्दा पञ्चायतमै कृषि उत्पादन राम्रोः कृषि मन्त्री खनाल

काठमाडौं, २७ साउन । कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनालले अहिले भन्दा पञ्चायतमा कृषि उत्पादन राम्रो भएको स्विकारेका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा फोर एच नेपालले आयोजना गरेको एसियन कृषि सम्मेलन तथा प्रदर्शनीको उद्घाटन कार्यक्रममा मन्त्री खनालले विगत तीन दशकमा कृषिको विकास हुन नसकेको बताएका हुन् ।

मन्त्री खनालले नेपालको कृषि क्षेत्रको वर्तमान अवस्था हेर्दा पञ्चांयत कालिनभन्दा पनि खतम भएको भन्दै विज्ञहरुले गरेको अनुसन्धान किसानसम्म पुर्याउन सकेमात्र कृषि क्षेत्र सुधार हुने दावी गरे ।

‘जति अनुसन्धानहरु भएका छन्, ती अंग्रेजी भाषामा छन्, खेती किसानी गर्ने किसानले बुझ्ने भाषामा अनुसन्धानका ज्ञानहरु पुर्याउन नसक्दा धेरै समस्या आएको छ त्यसैले आजसम्म भएका अनुसन्धानलाई किसानले बुझ्ने भाषामा पुर्याउन सरकार लागेको छ’, मन्त्री खनालले भने ।

अब भने सरकारले कृषि क्षेत्रको विकासका लागि अर्गानिक र आधुनिक परियोजनाहरु ल्याइएको भन्दै अबको १० बर्षमा नेपालको कृषिले फड्को मार्ने दावी समेत मन्त्री खनालले गरे ।

कार्यक्रममा बोल्दै मन्त्री खनालले २१ देखि ३५ बर्षका युवाहरुलाई स्वदेशमै खपत गर्न सक्ने तागत मुलुकले नबनाएसम्म कृषि क्षेत्र सुधार्न नसकिने बताए ।

‘उत्पादन क्षेत्रमा काम गर्न सक्ने ४० लाख जनशक्ति मुलुक बाहिर रहेका छन्’, मन्त्री खनालले भने, ‘ती युवाहरुलाई नेपालमै फर्काएर काम दिन सक्नुपर्छ ।’

मुलुकमा २ करोड ८० लाख जनसंख्या भएको मुलुकमा ३ करोड ७ लाख कित्तामा जग्गा टुक्राटुक्रा भएको भन्दै जमिनको खण्डिकरण पनि कृषि क्षेत्रको समस्या रहेको उनको भनाई थियो ।

मुलुक भित्रने तरकारीहरुको विषादी परीक्षण नरोकिने बताउँदै तत्काल अहिले अन्तराष्टिय स्तरको ल्याब भने संभव नभएको मन्त्री खनालले बताए ।

विषादीको समस्या समाधान गर्न सरकारले विषादी चेंक जाँज ऐन ल्याउन लागेको भन्दै मन्त्री खनालले ऐन आएपछि समस्या समाधान हुने बताए ।

कार्यक्रममा नेपालस्थित भारतीय दूतावासका डीसीएम डा. अजय कुमारले नेपाललाई अर्गानिक उत्पादनको लागि भारत सरकारले सकेको सहयोग गर्ने बताए ।

अहिले विश्व बजारमै अर्गानिक उत्पादनको माग उच्च रहेकाले नेपालले त्यो अवशरबाट फाइदा लिन सक्नु पर्नेमा डा.कुमारले जोड दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्व सिंचाइमन्त्री एनपी साउद लगायतले सिंचाइ दक्ष, उन्नत जातको विउ विजन, रासायिनिक मल, दक्ष जनशक्तिको परिचालनबाट कृषिमा क्रान्ती ल्याउन सक्नेमा जोड दिए ।

कार्यक्रममा वक्ताहरुले मुलुकको ७४ प्रतिशत जनता कृषि पेशमा आवद्ध भएपनि मुलुकलाई पुग्ने उत्पादन गर्न नसक्नु दुखद भएको भन्दै कृषिलाई व्यवस्थित गर्न ढिला भएको बताए ।

कार्यक्रमको आयोजक फोरएचका अध्यक्ष लोकराज अवस्थीले युवाहरुलाई कृषि क्षेत्रमा आकर्षण गर्न सम्बनिधत निकाय गंभिर हुन जरुरी रहेको बताए ।

युवा शक्तिलाई कृषिमा भविष्य छ भनेर देखाउन सके युवाहरु विदेशमा नजाने भन्दै युवाहरुलाई जागरण गर्न जरुरी रहेको अवस्थीले बताए ।

समिटमा नेपाल, भारत, चीन, इण्डोनेसिया, बेलायत, आयरल्याण्ड लगायतका देशहरुबाट १०० भन्दा बढी युवाहरुको सहभागिता रहेको छ । समिट साउन २८ गतेसम्म संचालन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here