राती उड्ने जहाजलाई ग्राउण्ड ह्याण्डलिङमा सहुलियत दिन मन्त्रीको प्रस्ताव

काठमाडौं, २७ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा राती अवतरण र उडान गर्ने वायुसेवा कम्पनीहरुलाई ग्राउण्ड ह्याण्डलिङ शुल्कमा सहुलियत दिने प्रयास थालेका छन् ।

आइतबार विमानस्थल स्थित नागरिक उड्डयन कार्यालयको निरीक्षण भ्रमणका क्रममा उसलाई निर्देशन दिंदै मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को अवधिमा रात्रीकालीन उडानलाई प्रोत्साहन गर्न ग्राउण्ड ह्याण्डलिङ शुल्कमा सहुलियत दिने बताएका हुन् ।

त्यस सम्बन्धमा आवश्यक निर्णय लिनका लागि सरोकारवाला अन्तरराष्ट्रिय वायुसेवा कम्पनीसँग बैठक बसी सहुलियत दिँदा बढ्न सक्ने उडान संख्या निक्र्यौल गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपालवायुसेवा निगमलाई निर्देशन दिएका छन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको काम निगमले गर्दै आएको छ ।

त्यसैगरी, हवाई इन्धनमा लिइने मूल्यबारे पुनरविचार गर्न पनि उनले नेपाल आयल निगमलाई निर्देशन दिएका छन् । अन्य मुलुकको तुलनामा नेपालले लिने हवाई इन्धन मूल्य निकै महँगो भएको गुनासो अन्तरराष्ट्रिय वायुसेवाबाट आइरहेकाले आफूले पनि त्यसका लागि आवश्यक पहल गर्ने मन्त्री भट्टराईले बताए ।

भ्रमण वर्ष २०२० लाई सफल बनाउन विमानस्थलबाट दिइने सेवासुविधामा सुधार गर्नु पर्ने उनको भनाइ छ ।

मन्त्रालयका सविच मोहन सापकोटा, प्रधानमन्त्री कार्यालयका सचिव शिशिरकुमार ढुंगाना, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, भिजिट नेपाल वर्ष २०२० आयोजक समितिका संयोजक सुरज वैद्य लगायत निरीक्षण टोलीमा सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here