सुनको मूल्य ७ सय घट्यो, प्रतितोला ७० हजार ३ सय रुपैयाँ

काठमाडौं २८, साउन । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सयले घटेको छ । अघिल्लो दिन प्रतितोला ७१ हजारमा कारोबार भएको सुनको मूल्य बुधबार ७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पुर्व अध्यक्ष तेजरत्न शाक्यले बताए ।

पछिल्ला दिनमा निरन्तर नयाँ रेकर्ड कायम गर्दै आएको सुनको मूल्य बुधबार एक्कासी ७ सय रुपैयाँले घटेको हो । विश्व बजारमा सुनको मूल्य प्रतिऔस १६ अमेरिकी डलरले घटेपछि नेपाली बजारमा त्यसको प्रभाव परेको हो । बुधबार विश्व वस्तु बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ५ सय अमेरिकी डलरमा कारोबार भइरहेको छ । मंगलबार प्रतिऔंस १ हजार ५ सय १६ डलरमा सुन किनबेच भएको थियो ।

सुनको मूल्य आकासियपछि घरेलु बजारमा सुनको कारोबार ठप्प जस्तै भएको छ । गत वर्षका यही अवधिको तुलनामा सुनको कारोबार ७५ देखि ८० प्रतिशतले घटेको व्यवसायीहरुले बताएका छन् ।

सुनको कारोबार घटेपछि बैंकमा रहेको सुन विक्री भएको छैन । सुन विक्री नभएपछि बैंकले सुन आयात रोकेका छन् । असार २० देखि बैंकले सुन आयात गरेका छैनन । गत सातासम्म बैंकमा ७ सय ७० किलो सुन थुप्रिएको बैंकर्स संघले जनाएको छ ।

सुन महङ्गो भएपछि पुराना गहना विक्री गर्ने क्रम बढेको व्यवसायीहरुले बताएका छन् । व्यवसायीले पनि महङ्गो मूल्यमा सुन खरिद गरेर स्टक राख्न छोडेका छन् । बरु स्टकमा रहेको सुन धमाधम विक्री भइरहेको सुनचाँदी व्यवसायी महासंघका पुर्व अध्यक्ष शाक्यले बताए ।

खासगरी अमेरिका र चीनको व्यापार युद्धका कारण विश्व बजारमा व्यवसाय प्रभावित भएपछि लगानीकर्ताले सुनमा लगानी बढाएका छन् । यसकारण सुनको मूल्य निरन्तर उकालो लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here