महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक, सहमतिको सम्भावना न्यून

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं साधारणसभाको तालिका सार्वजनिक भएको छ ।

निर्वाचन समितिको बैठकले यही २९ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । यस पटकका महासंघको निर्वाचनमा तीन वटा प्यानलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

वरिष्ठ उपाध्यक्षका लागि हालका उपाध्यक्षहरु अन्जन श्रेष्ठ र रामचन्द्र संघाई तथा उमेशलाल श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

मतदान कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुनेछ । मतदान केन्द्रभित्र कुनै पनि उम्मेदवार वा समूहको फ्लेक्स, ब्यानरहरु टाँस्न, झुन्ड्याउन र भड्किलो प्रदर्शन गर्न निषेध गरिएको छ ।

मतदान बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म चल्नेछ । तर, उक्त समयभित्र मतदान स्थलभित्र प्रवेश गर्ने मतदातालाई जतिसुकै समय लागे पनि भोट खसाल्न दिइनेछ ।त्यस्तै तोकिएको समयावधिमा मतदात सुरु हुन नसके त्यति नै समय थप गरिने कार्यालयले जनाएको छ ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षका कुनै पनि उम्मेदवारले निर्वाचित हुन पहिलो चरणमा ५० प्रतिशत मत ल्याउन नसके दोस्रो चरणको निर्वाचन चैत ३० गते बिहान ११ बजेदेखि ५ बजेसम्म हुनेछ ।

मतदान गर्न जाँदा मत संकेत गर्ने कोठामा मोबाइल, क्यामेरा तथा सलाइ, लाइटर, प्रज्वलनशील पदार्थ र तरल पदार्थ लिएर जान निषेध गरिएको छ । मतदान गर्न जाँदा मुख्य प्रतिनिधि परिचय पत्रका साथै आफ्नो परिचय पत्र खुल्ने फोटोसहितको परिचय पत्र अनिवार्य गरिएको छ ।

जिल्ला/नगर तथा वस्तुगत संघ समूहका लागि १-१ तथा एसोसिएटका लागि ३ वटा मतदान केन्द्र कायम गरिएको निर्वाचन समितिको कार्यालयले जनाएको छ ।

जिल्ला/नगर समूहका सबै पदका लागि रातो रंगको मतपत्र, वस्तुगत समूहका सबै पदका लागि निलो रंगको मतपत्र र एसोसिएट समूहका सबै पदका लागि सेतो रंगको मतपत्र निर्धारण गरिएको छ । प्रदेश सदस्य र संस्थागत समूह सदस्य पदको मतपत्र भने पहेँलो रंगको हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here