मोटरसाइकल चलाउँदा कसरी सुरक्षित हुने ? यस्ता छन् उपाय

मोटरसाइकल किन्ने सोचमा हुनुहुन्छ ? वा पहिलेदेखि नै मोटरसाइकल चलाउँदै आउनुभएको छ ।

दैनिक कामकाजको लागि वा कतै यात्रा गर्नको लागि मोटरसाइकल चलाउने नेपालीहरुको संख्या ठूलो छ । आजभोली मध्यम आय भएका कामकाजी मानिसहरुको लागि त मोटरसाइकल अत्यावश्यक सवारीसाधन भएको छ ।

हाम्रो दैनिक जीवनलाई धेरै सहज बनाएको मोटरसाइकलको फाइदा मात्रै छैन । यसका केही बेफाइदा पनि छन् ।

दुईपाङ्ग्रे सवारीसाधन भएकाले यसलाई सबैभन्दा धेरै असुरक्षित सवारी मानिन्छ त्यसैले मोटरसाइकल चलाउँदा हामीले धेरै सुरक्षित भएर चलाउनुपर्छ ।

विशेषगरी युवावर्गको मोटरसाइकल चलाउँदा धेरै गतिमा हाँक्ने बानी हुन्छ जसले दुर्घटना निम्त्याउन पनि सक्छ । त्यसैले मोटरसाइकल चलाउँदा हामी संयमित भएर चलाउनुपर्छ ।

कतिपय युवाहरुमा ओभर कन्फिडेन्स हुन्छ, उनीहरुमा आफूले राम्रोसँग मोटरसाइकल हाँक्ने, राम्रो अनुभव र ज्ञान भएको भ्रम हुन्छ । उनीहरु आफू सँधै सुरक्षित हुन्छु भन्ने सोच्छन् ।

हामी यतिमात्र भन्छौ कि तपाईं बाइक चलाउनुस वा उडाउनुस तर सावधानी अपनाउनुहोस् । किनभने मोटरसाइकल कार जस्तो सुरक्षित सवारीसाधन होइन ।

दुईपाङ्ग्रे भएकाले लड्ने सम्भावना त हुन्छ नै साथै गाडी जस्तो चारै तर्फबाट सुरक्षित रुपमा घेरिएको हुँदैन् । त्यसैले बाइक दुर्घटना हुँदा धेरै चोट लाग्नुका साथै जीवन नै संकटमा पर्ने गर्छ ।

त्यसैले बाइक चलाउदा सधैं सावधानी अपनाउनु पर्छ ।

मोटरसाइकल चलाउँदा कसरी सुरक्षित रहने ?

— सधै राम्रो र गुणस्तरीय हेल्मेटको प्रयोग गर्नुपर्दछ । हेल्मेट लगाउँदा नहल्लिने प्रकारको हुनुपर्दछ । सेफ्टी स्ट्याण्डर्ड अनुसारको फुल हेलमेट किन्नुपर्छ ।

केही रकम महंगो परेपनि राम्रो हेल्मेट प्रयोग गर्दा दुर्घटना भैहाले पनि टाउकोमा चोट लाग्नबाट बचाउँछ ।

—मोटरसाइकल रोक्ने समयमा सधै एकैपटक दुवै ब्रेकको प्रयोग गर्नुपर्दछ । दुवै ब्रेकलाई एकसाथ लगाउँदा लड्ने सम्भावना कम हुन्छ ।

— आफ्नो मोटरसाइकलको स्पीडमा आफै ध्यान दिनुपर्दछ । कुन सडकमा कस्तो र कति स्पीडमा चलाउने भन्ने कुरामा सधै ध्यान दिनुपर्दछ । जोशमा होस गुमाउने गर्नु हुँदैन् । जोशमा होस गुमाउँदा ज्यानै जाने समेत खतरा हुन्छ ।

— सडकमा अगाडि पछाडिका सवारी साधनसंग एक निश्चित दुरी कायम गर्नुपर्दछ । यसो गरेमा अचानक अगाडीको सवारी रोकिएमा पनि तपाईंलाई कुनै हानी हुँदैन् ।

— साईड चेन्ज गर्ने समयमा सधै साईड लाईटहरुको प्रयोग गर्नुपर्दछ । यसो गर्दा अन्य सवारी साधनहरु पनि सतर्क हुन्छन् र कुनै दुर्घटना हुन पाउँदैन् ।

— सम्भव भएसम्म हरेक यात्रापूर्व उक्त सडकको बारेमा सम्पुर्ण जानकारी लिनुपर्दछ । यसो गर्दा सडकको स्थिती र वातावरणको बारेमा सम्पुर्ण जानकारी प्राप्त हुन्छ र सुरक्षित रहन सकिन्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here