घरजग्गा तथा आवास विकास संघको अध्यक्षमा विदुर धमला निर्वाचित

`
काठमाडौं, २० बैशाख । नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा विदुर धमला निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा बुधबार भएको संघको १६औं साधारण सभाले उनलाई आगामी दुई वर्षका लागि अध्यक्ष चुनेको हो । सभाले अध्यक्षसहित सात जना पदाधिकारी र सात जना सदस्य निर्वाचित गरेको छ ।

धमला नेतृत्वको नयाँ कार्य समितिको प्रथम उपाध्यक्षमा सी.डी. डेभलपर्स प्रा.लि. का दिपक कुवँर, द्वितीय उपाध्यक्षमा कन्टिनेन्टल डेभलपर्स प्रा.लि. का पुरुषोत्तम पौड्याल, तृतीय उपाध्यक्षमा सनराईज डेभलपर्स प्रा.लि. का सुमितकुमार अग्रवाल, महासचिवमा सचिवमा इस्टेट गुरु प्रा.लि. का रोशन भोयद्यो, सचिवमा निलगिरी हाउजिङ्ग प्रा.लि. का गोविन्दप्रसाद लोहनी र कोषाध्यक्षमा अधिकारी बिल्डर्स प्रा.लि.का तुलसीप्रसाद अधिकारी निर्वाचित भएका छन् ।

त्यसैगरी कार्यसमितिको सात जना सदस्यमा बहादुरकृष्ण ताम्राकार, दिपक मलहोत्रा, पूर्णिमा राजभण्डारी, निश्चलबहादुर श्रेष्ठ, बरुणकुमार आचार्य, डेगेन्द्रकुमार श्रेष्ठ, मुनसन वाग्ले निर्विरोध निर्वाचित हुनु भएको छ ।

संघका निवर्तमान अध्यक्ष इच्छाबहादुर वाग्लेले आफ्नो कार्यकालमा भएको कार्य विवरण प्रस्तुत गर्दै नीति निर्माण तहमा सच्चा व्यवसायिक ब्यक्तिहरुको उपस्थिति हुन आवश्यक भएको, उद्योग व्यवसायका सम्पूर्ण वस्तुगत क्षेत्रमा नै चर्को ब्याजको प्रभावले ८० प्रतिशत व्यवसायीहरु प्रभावित भएको बताए । बैंक वित्तीय प्रणालीमा अर्थ मन्त्रालयले हस्तक्षेप गरी लगानीमैत्री बैंकिङ्ग प्रणाली श्रृजना गरी दिनुपर्ने, कित्ताकाट तत्काल पूर्व अवस्थामा फर्काइनुपर्ने उनको माग थियो ।

सभामा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले रियल इस्टेट व्यवसायीहरुको माग सम्बोधन गर्न प्रयासरत रहने र हालको बजार संकुचन हटाउन पहल गर्ने प्रण गरे । नयाँ कानून तथा नीति जारी गर्नु भन्दा पहिले सोसँग सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरेर जारी गरे मात्र त्यस्ता कानून तथा नीतिहरु कार्यान्वयन गर्न सहज हुने र सरकारले स–साना उपकरणहरुको प्रयोग गरेर पनि जन विश्वास आर्जन गर्न सक्ने उनको विचार थियो ।

महासंघका बरीष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपाल राष्ट्र बैंकले अर्थतन्त्र संकुचन नहुने नीति अवलम्वन गर्नुपर्ने, सरकारले नीति जारी गर्दा व्यवसायीहरुलाई हैरानी दिन नहुने, घरजग्गाको व्यवसाय अनुत्पादक क्षेत्र नभएकोले यसलाई चलायमान बनाउनु पर्ने धारण राख्दै एफएनसीसीआई संघसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता प्रकट गरे ।

नेपाल जग्गा तथा आवास विकास महासंघ, काठमाडौंका अध्यक्ष भेषराज लोहनीले एकल ब्याजदर कायम गर्नुपर्ने र लोन टु भ्यालु रेसियो बढाउनुपर्ने धारणा राख्दै महासंघले पनि संघसँग समन्वय राखी सहकार्य गर्ने प्रतिवद्धता प्रकट गरेका थिए ।

संघको संस्थापक अध्यक्ष तथा सीमाविद् बुुद्धिनारायण श्रेष्ठले रजिष्टर्ड व्यवसायीले मात्र घरजग्गाको कारोबार गर्न पाउने व्यवस्था गर्नुपर्ने र सबै व्यवसायी गोलबद्ध हुनुपर्ने विचार व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here