अर्थतन्त्रमा देखिएका समस्या हल गर्न सरकार र राष्ट्र बैंकको संवेदनशीलता आवश्यक- महासंघ

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयद्धारा सार्वजनिक राष्ट्रिय लेखा तथ्यांकले बजारमा लामो समयदेखि विद्यमान मन्दीलाई प्रतिविम्वित गरेको भन्दै नेपाल उद्योग महासंघले सरोकारवाला पक्षको गम्भीर ध्यानाकर्षण गराएको छ ।

राष्ट्रिय लेखा तथ्यांकले यस वर्ष १.८६ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गर्नु र यससँगै पछिल्ला ३ त्रैमासमा अर्थतन्त्र ऋणात्मक रहनुले अर्थतन्त्रमा मन्दीको अवस्था देखिनु चिन्ताजनक भएको महासंघले जनाएको छ ।

‘उत्पादनमूलक उद्योग, निर्माण र व्यापारको वृद्धिदर ऋणात्मक हुनु भनेको निजी क्षेत्र संकुचित हुँदै गएको संकेत हो,’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले एक बर्षदेखि अन्तराष्ट्रिय बजारमा बढेको मुल्य र मुलुकभित्र भएका नीतिगत परिवर्तनका कारण अर्थतन्त्र मन्दीमा जानेतर्पm सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदै आएको छ । तर, सम्बन्धित निकायबाट पहल नहुँदा अर्थतन्त्रमा चाप परेकोतर्पm महासंघ गम्भीर ध्यानाकर्षण गराउन बाध्य भएको विज्ञप्तिमा उल्लेख छ ।

यस अवस्थामा सरकार र राष्ट्र बैंक सम्वेदनशील हुनुपर्ने आवश्यकता थप महशुस भएको छ । अर्थतन्त्रलाई मन्दीबाट बाहिर ल्याउन बजारमा माग बढाउनुपर्ने र उद्यमी व्यवसायीले काम गर्न नपाउँदा राजस्व पनि करिब १६ प्रतिशतले ऋणात्मक रहेको हुँदा बजारमा माग बढाउन सरकारले अनावश्यक खर्च कटौति गरि पूँजीगत खर्च बढाउन महासंघको आग्रह छ ।

यसैगरी, निजी क्षेत्रको लगानी विस्तार गर्न तत्काल ब्याजदर कम गर्ने उपाय केन्द्रिय बैंकले अवलम्बन गर्नुपर्ने र केन्द्रिय बैंकले मुख्यतया नीतिगत दर, बैंक दर, अनिवार्य नगद अनुपात घटाउने लगायत आवश्यक उपाय अवलम्बन गरि ब्याजदर घटाउन पहल गर्नुपर्ने महासंघको भनाइ छ । यसैगरी पुराना ऋणीहरुले साँवाब्याज भुक्तानी गर्न नसक्दा बैंकहरुको खराब कर्जा समेत करिब ४ प्रतिशत पुगिसकेको हुँदा कर्जाको पुर्नसंरचना एवं पुर्नतालिकीकरणको सुविधा दिइनुपर्ने महासंघको माग छ ।

९ महिना यता लगातार ७ प्रतिशतभन्दा बढी मुल्य वृद्धि रहँदै आएकाले आम उपभोक्ताको क्रयशक्ति क्रमशः घटिरहेको छ । निजी क्षेत्रले निर्वाध काम गर्न नपाउँदा सरकार र आम उपभोक्ता समेत सँगसँगै प्रभावित भैरहेकोले तत्काल सुधारको कार्य नथाल्ने हो भने अर्थतन्त्रको मन्दी लम्बिदै जानेतर्फ ध्यानाकर्षण गराउँदै महासंघ, सरकार र केन्द्रिय बैंकको सम्वेदनशीलताका अपनाउनु पर्ने महासंघको आग्रह छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here