१ जनवरी २०२४ बाट दुर्गममा जहाज उडाउने पाइलटको अधिकतम उमेर ६० वर्ष

File

५ जेठ, काठमाडौं । दुर्गम भेगमा जहाज उडाउने पाइलटको अधिकतम उमेर अब ६० वर्ष तोकिएको छ । नेपाल नागरिक प्राधिकरणका अनुसार यो प्रावधान १ जनवरी २०२४ बाट लागू हुने छ ।

१५ जेठ २०७९ मा मुस्ताङमा भएको तारा एयरको नाइनएन–एइटी, डीएचसी–६–३०० जहाज दुर्घटनाबारे अध्ययन गर्न सरकारले रतिशचन्द्र लाल सुमनको नेतृत्वमा छानविन आयोग बनाएको थियो । सो आयोगले दिएको सिफारिसका आधारमा प्राधिकरणले यस्तो निर्णय लिएको हो ।

दुर्घटनाग्रस्त विमान ६२ वर्षका पाइलटले उडाएका थिए । अहिले नेपालमा सबै गन्तव्यमा जहाज उडाउने पाउने उमेर ६५ वर्ष तोकिएको छ । तर आयोगले बढ्दो उमेरसँगै पाइलटको कार्यक्षमतामा आउने ह्रासका कारण हुने जोखिम उच्च हुने निष्कर्ष निकालेको छ र छोटो धावनमार्ग रहेका विमानस्थलमा जहाज उडाउने पाइलटको उमेर हद ६० वर्षमा झार्न सिफारिस गरेको छ ।

प्रतिवेदन अनुसार ५५ वर्ष हाराहारीसम्म राम्रो कार्य कुशलताका साथ काम गर्ने भएपनि त्यसपछि भने क्रमशः क्षमता घट्दै जाने देखिएको छ । यो तथ्य अन्तर्राष्ट्रिय नियामक निकायबाट समेत प्रमाणित भएको संयोजक सुमनले बताए । पाइलटको शारीरिक तथा मानसिक स्वास्थ्य, विगतमा भएका दुर्घटनाको रेकर्डको वैज्ञानिक अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सुझाव दिएको छ ।

पोखराबाट जोमसोम उडेको उक्त जहाज दुर्घटना हुँदा चालक दलका ३ सदस्यसहित २२ जनाको मृत्यु भएको थियो । दुर्घटनाको मूख्य कारण मौसममा अकस्मात आएको खराबी थियो । तर चालक दलले जहाजमा रहेका उपकरणहरुलाई उचित तरिकाबाट सञ्चालनमा ल्याउन नसकेको अध्ययनले देखाएको छ ।

प्रतिवेदन अनुसार जहाज जमिनको नजिकै जाँदा चेतावनी दिने प्रणाली ‘टेरेन अभोइडेन्स एण्ड वार्निङ सिस्टम (टीएडब्लूएस)’ अफ गरिएको थियो । जसले गर्दा जहाज जमिनमा ठोक्किने अवस्था आउँदा समेत चालक दलले यसको संकेत पाएनन् । यो जहाजमा सबै भार चालकले उठाएका थिए । को–पाइलटको यो गन्तव्यमा मात्र दोस्रो उडान थियो । पाइलट बढी उमेर र ज्यादै अनुभवी भएपनि अनुभवविहीन को–पाइलट राख्नु वायुसेवा कम्पनीको कमजोरी मानिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here