सगरमाथा क्षेत्रमा अब पेय पदार्थका बोतल लैजान रोक, प्लाष्टिक निषेध

काठमाडौं, ३ भदौ । सगरमाथासहित यस आसपासका हिमाल पूर्ण प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिएको छ ।

स्थानीय सरकारले सगरमाथालगायत हिमाल तथा वस्तीलाई प्लाष्टिक निषेध क्षेत्र घोषणा गरेको हो ।

खुम्बु पासाङल्हामु गाउँपालिकाको गत २७ साउनको बैठकले गाउँपालिका क्षेत्रमा पर्ने सबै हिमाल र मानव बस्तीमा ३० माइक्रोनभन्दा कमको प्लाष्टिक प्रयोग रोक्ने निर्णय गरेको छ ।

यो निर्णयको पूर्ण कार्यान्वयन भने २०२० जनवरीबाट हुने गाउँपालिकाले उल्लेख गरेको छ ।

भ्रमण वर्षको अभियानमा नयाँ रुप दिन तथा यस भेगको सुन्दरता कायम राख्न सगरमाथासहितका क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिएको गाउँपालिकाले उल्लेख गरेको छ ।

जलवायु परिवर्तन लगायत कारण यस भेगका हिमाल तथा वातावरणमा परेको असर र मानव स्वास्थ्यलाई समेत ध्यान दिइ निषेध गरिएको गाउँपालिकाद्धारा सार्वजनिक विज्ञप्तीमा भनिएको छ ।

प्लाष्टिकसँगै अब गाउँपालिका क्षेत्रभित्र पेय पदार्थका बोतलको आयात रोकिएको छ ।

पेय पदार्थ बिक्रि गर्ने व्यापारीले क्यानमा मात्र यस्ता सामग्री सगरमाथा क्षेत्र भित्र लैजान पाउने गाउँपालिकाको भनाई रहेको छ ।

कोक, फ्यान्टा, पेप्सी, मिरिण्डा, स्प्राइटजस्ता पेय पदार्थको आयात बोतलमा गर्न नपाइने निर्णय भएको गाउँपालिकाको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

स्थानीय सरकारले प्लाष्टिकको साटो हरेक घरपरिवारलाई झोला बितरणको समेत योजना सार्वजनिक गरेको छ ।

अब प्रत्येक घरलाई ५\५ वटा झोला बितरण गरिने र प्लाष्टिक प्रयोगलाई निषेध गरिने गाउँपालिकाको भनाई रहेको छ ।

यस्तो सुविधा गाउँपालिका भित्र स्थायी रुपमा बसोबास गर्ने परिवारले मात्र पाउने छन् । सगरमाथा क्षेत्रको फोहोरको विषय विश्वव्यापी चासोको विषय बन्ने गरेको छ ।

किनकी सगरमाथा संसारका पर्यटकहरुको आकर्षक गन्तब्य हो । पर्वतारोहण र पदयात्राका सिलसिलामा लाखौं पर्यटक वर्षेनी यहाँ आउने गरेका छन् । सगरमाथाबाट मात्र नेपालले वर्षमा ठूलो रकम आर्जन गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here