गोल्छा समूह र इन्डियन आयलबीच लुब्रिकेन्ट उद्योग स्थापना गर्ने सम्झौता

काठमाडौं । गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलास चन्द एण्ड कम्पनीले इन्डियन आयलको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी इन्डियन आयल माउरिसस लिमिटेडसँग सम्झौता गरेको छ । संयुक्त लगानी गरि नेपालमा सर्भो लुब्रिकेन्टको स्थानीय उत्पादनका लागि अत्याधुनिक ल्युब ब्लेन्डिङ प्लान्ट स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

कम्पनीका अनुसार उक्त ल्युब ब्लेन्डिङ प्लान्ट २०२४ को अन्त्यसम्ममा तयार हुने अपेक्षा गरिएको छ । र यसको लागि दुवै कम्पनीले ५०/५० प्रतिशत संयुक्त लगानी गर्ने सम्झौता भएको छ । यस संयुक्त लगानीको पहिलो चरण अन्तर्गत अधिकारिक पूँजी लगानी लगभग ६० करोड बराबर हुनेछ ।

आरम्भिक उद्योग स्थापना मात्र नभई यस संयुक्त लगानीले नेपालको बढ्दो अर्थतन्त्रको विकासका आवश्यकताहरू पूरा गर्न भविष्यमा विस्तार, रणनीतिक साझेदारी र उत्पादन लाइनहरूको विविधीकरणको परिकल्पना पनि गरेको छ ।

यस बारेमा बोल्दै गोल्छा ग्रुपका म्यानेजिङ डाइरेक्टर एवम् चेयरम्यान श्री शेखर गोल्छाले भने , “भारतकै सबैभन्दा ठुलो कम्पनी इन्डियन आयलसँगको हाम्रो लामो सहयात्राको शुभारम्भ भएको छ । यो पहिलो खुड्किला हो र भविष्यमा अन्य थप उद्योग स्थापना गर्ने बृहत योजना छ । यो सहकार्यले नेपाली उद्योगी र उद्योगको इतिहासमा एउटा महत्वपूर्ण कोसेढुंगा थपेको छ । हामी यो साझेदारी र यसले नेपालको औद्योगिक क्षत्रमा ल्याउने परिवर्तनलाई लिएर अत्यन्तै उत्साहित छौं ।”

उनका अनुसार यो साझेदारी क्षेत्रीय आर्थिक वृद्धिलाई बढावा दिन, आत्मनिर्भरता प्रवर्द्धन गर्न र लुब्रिकेन्ट उद्योगमा प्राविधिक विकासलाई अगाडि बढाउन समर्पित छ । ‘मेड इन नेपाल’को परिकल्पनालाई साकार पार्न र लुब्रिकेन्ट उद्योगमा प्रविधिको विकास गर्न यस ल्युब ब्लेन्डिङ प्लान्टको स्थापना महत्वपूर्ण कोसेढुङ्गा मानिएको छ ।

यति मात्र नभई यो संयुक्त लगानी सम्झौताले दुवै साझेदारहरूको दिगो विकास र जिम्मेवार व्यावसायिक अभ्यासहरू प्रति साझा प्रतिबद्धता जनाउँछ । यो ऐतिहासिक सहकार्यले नेपालको विकास र समृद्धिलाई प्रोत्साहन गर्ने साझेदारीको नयाँ अध्यायको प्रेरणादायी सुरुवात गर्ने छ । गोल्छा समूह र इन्डियन आइल बीचको संयुक्त उद्यमले आगामी पुस्ताका लागि उज्यालो भविष्यको लागि मार्ग प्रदान गर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here