विज्ञापन नियमन विधेयक समितिबाट पारित, क्लिन फिड लागु हुने

काठमाडौं, ४ भदौ । संसदको विकास तथा प्रविधि समितिले विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पास गरेर संसदमा पठाउने निर्णय गरेको छ ।

समितिले बुधबार विधेयकमाथिको दफावार छलफल सम्पन्न गर्दै सर्बसम्मतिले पास गरेको हो ।

संसदबाट विधेयक पास भएको एकवर्ष पछि नेपालमा क्लिन फिड लागु हुने बताइएको छ । विधेयक पास भएको एक वर्षभित्र केवल टेलिभिजन अपरेटर कम्पनीहरुले विदेशी च्यानलहरुमा आउने विदेशी विज्ञापन हटाइ क्लिन फिड बनाएर प्रशारण गर्नुपर्नेछ ।

क्लिन फिड लागु गर्ने कुरा धेरै अगाडिदेखि नै चल्दै आएको थियो तर, केवल टेलिभिजन अपरेटरहरुले त्यसको विरोध गर्दै आएका थिए । सञ्चारमन्त्री गोकुल बाँस्कोटा भने जसरी पनि क्लिन फिड लागु गराउने पक्षमा देखिएका थिए ।

यसैगरी विधेयक पारित भएपछि बिजुली र टेलिफोनको पोलहरुमा होर्डिङ बोर्ड राख्न नपाइने व्यवस्था विधेयकमा छ ।

विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले विज्ञापन विधेयक पास भएपछि नेपाली विज्ञापन क्षेत्र मर्यादित हुने बताइन् ।

त्यस्तै विधेयकमा सम्पूर्ण सरकारी विज्ञापनहरु विज्ञापन बोर्ड गठन गरेर त्यसैमार्फत सञ्चारमाध्यमहरुलाई उपलब्ध गराउने व्यवस्था उल्लेख छ ।

बोर्डलाई विज्ञापनसम्बन्धि राष्ट्रिय नीति तय गर्ने, सञ्चारमाध्यमबाट प्रशारण प्रकाशन हुने विज्ञापनको अनुगमन गर्ने र कारबाही समेत गर्न सक्ने अधिकार दिइने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here