सहकारीमा सन्दर्भ ब्याजदरको अनुगमन हुने, पालना नभए कारवाही

काठमाडौं ५, भदौं । सहकारी संस्थाले सन्दर्भ ब्याजदर लागु भए/नभएको बारे सहकारी विभागले अनुगमन गर्ने भएको छ । यसअघि विभागले तोकिदिएको अधिकतम १६ प्रतिशत ब्याजदरको सीमा पालना भए नभएको बारे अनुगमन गर्न लागिएको विभागले जनाएको छ ।

अनुगमनको क्रममा निर्देशन पालना नभएको वा निर्देशन विपरित भएको भेटिए कानून बमोजिम कारवाही गरिने विभागले दाबी गरेको छ ।

सहकारी ऐनको व्यवस्था अनुसार सहकारी संस्थाका लागि सन्दर्भ ब्याजदर निर्धारण गर्ने उल्लेख छ । सोही व्यवस्था अनुसार सरोकारवालाहरुको सहभागितामा सहकारी विभागको नेतृत्वमा सहकारी संस्थाकालागि अधिकतम १६ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ । उक्त व्यवस्था पनि बचत तथा ऋण सहकारी संस्थाले अधिकतम १६ प्रतिशत भन्दा बढी ब्याजदरमा ऋण प्रवाह गर्न पाइदैन ।

यस्तै, सहकारी संस्थाले बचतमा १० प्रतिशतभन्दा कम ब्याज दिन पाइदैन । सरकारी सम्बन्धी नियमावलीमा सहकारी संस्थामा कर्जा र ऋणको ब्याजअन्तर बढीमा ६ प्रतिशत हुनुपर्ने कानूनी व्यवस्था छ ।

यो व्यवस्था अघि सहकारी संस्थाले १२ देखि २५ प्रतिशतसम्म ब्याजदरमा ऋण प्रवाह गर्दै आएका थिए । विभागले सन्दर्भ ब्याजदर तोकिदिएकै दिनदेखि सहकारीले संस्थाले आफ्नो ऋणको ब्याजर घटाएर बढीमा १६ प्रतिशत गर्नु थियो । तर, हालसम्म धेरै सहकारीले उक्त निर्देशन पालना नगरेको भेटिएको छ । सोही सूचना (उजुरी) आधारमा विभागले सहकारीको अनुगमन गर्न थालेको हो ।

यसअघि नेपाल सरकारले सहकारी संस्थामा कालोधन भए नभएकोबारे खोजी गर्ने भएको छ । सरकारी क्षेत्रमा स्रोत नखुलेको धन रहेको आरोप लागिरहेको समयमा सहकारी विभागले कालोधन बारे खोजतलास गर्न लागेको बताएको थियो । त्यसको प्रक्रिया भने अझै सुरु नभएको स्रोतले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here