किन घट्यो टेलिकमको नाफा ? कारण यस्तो छ

-जितेन्द्र खनाल

काठमाडौं, ५ भदौ । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले केही दिन अगाडि आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण सार्वजनिक गर्यो । टेलिकमले सार्वजनिक गरेको तथ्यांक अनुसार कम्पनीले गत आर्थिक वर्षमा १० अर्ब २० करोड रुपैयाँ खुद नाफा गरेको छ ।

तर, टेलिकमको यो नाफा भने अघिल्लो आर्थिक वर्षको तुलनामा भने ४१ प्रतिशतले कम हो ।

टेलिकमले आर्थिक वर्ष २०७४/७५ मा १७ अर्ब ४८ करोड खुद नाफा गरेको थियो । टेलिकमको नाफा यस वर्ष ७ अर्ब भन्दा बढीले घटेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ को अन्तिम त्रैमासमा दुई अर्ब ३७ करोड रुपैयाँ नाफा गरेको वित्तीय विवरणमा उल्लेख छ । जबकी कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चार अर्ब ८६ करोड रुपैयाँ नाफा गरेको थियो ।

किन घट्यो नाफा ?

टेलिकमको नाफा किन यति धेरै घट्यो भनेर हामीले नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यसँग प्रश्न गर्यौं । जवाफमा उनले नेपाल टेलिकमको नाफा यो आर्थिक वर्षमा केही कम देखिनु सामान्य कुरा भएको बताइन् ।

वैद्यका अनुसार अहिले नेपालमा मात्रै नभएर विश्वमा नै दूरसञ्चार कम्पनीहरुको नाफामा कमी आएको छ ।

इन्टरनेटको विश्वव्यापी प्रयोगको कारण टेलिकमको नाफामा कमी देखिएको तर्क उनले गरिन् ।

‘इन्टरनेटको विश्वव्यापी प्रयोगको कारण टेलिकमको नाफामा कमी देखिएको हो,’ उनले भनिन्, ‘यो नेपालको मात्र समस्या होइन् विश्वभरका सबै टेलिकम कम्पनीहरुको अवस्था वर्तमान समयमा यस्तै छ ।’

वर्तमान समयमा विश्वका सम्पुर्ण देशमा इन्टरनेट उपलब्ध छ । यस्तोमा प्राय सबै मानिसहरुको कुराकानी इन्टरनेटबाट नै हुने कारणले धेरै मात्रामा टेलिकमको प्रयोगकर्ता घटेको बताइन्छ ।

म्यासेन्जर, इमो, भाइबर, ह्वाट्सएप, इन्स्ट्राग्राम आदि सामाजिक सञ्जालहरुको प्रयोग बाट च्याट, भ्वाइस कल, भिडिया कल हुने गरेको कारण पनि व्यापारमा कमी आएको टेलिकम सेवा प्रदायकहरू बताउँछन् ।

टेलिकमकी प्रवक्ता वैद्यले पनि इन्टरनेटजन्य प्रविधिबाट सस्तो दरमा कुरा गर्न मिल्ने भएको कारण मानिसहरुले इन्टरनेटलाई नै रोज्ने गरेको बताइन ।

लाईसेन्स नविकरणमा मात्रै ४ अर्ब

प्रवक्ता वैद्यका अनुसार गत आर्थिक वर्षमा नेपाल टेलिकमको लाईसेन्स नविकरण गर्नको लागि मात्रै ४ अर्ब रकम खर्च भएको कारण पनि टेलिकमको नाफामा कमी देखिएको हो ।

‘अघिल्लो आवको तुलनामा किन हाम्रो नाफा ७ अर्ब कम देखियो भने हामीले यो वर्ष मात्रै लाईसेन्स रिन्यूको लागि ४ अर्ब खर्च गरेका छौं,’ उनले भनिन् ।
यसका साथै करमा वृद्धि भएको कारण पनि टेलिकमको नाफा कम भएको उनले बताएकी छिन् ।

‘यो वर्षबाट कर ५ प्रतिशतले बढेर ३० प्रतिशतमा पुगेको छ ।’ उनले भ्निन् ‘जसको कारण हामीले यो वर्षबाट करको रुपमा १ अर्ब रुपैयाँ बढी तिरेका छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here