विद्यालय बन्द गराएमा कारवाही गर्ने बालेनको चेतावनी

२ असार, काठमाडौं । काठमाडौंं महानगरपालिकाका मेयर बालेन्द्र शाहले विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले भोलिदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने घोषणा गरेको प्रसङ्गलाई लिएर मेयर शाहले चेतावनी दिएका हुन् । सेवा सुविधा बढाउनुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएका सामुदायिक विद्यालयका कर्मचारी तथा प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक)हरुले भोलिदेखि सामुदायिक विद्यालय बन्दको घोषणा गरेका छन् ।

आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै मेयर शाहले काठमाण्डौ महानगरभित्रका सबै विद्यालयहरुमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिएका छन् । यदि कक्षा सञ्चालन नगरेमा कारबाही गर्ने उनको चेतावनी छ । उनले विद्यालयमा उपस्थित नहुने शिक्षक तथा कर्मचारीलाई शिक्षा ऐन अनुसार पदबाट हटाउने र कक्षा सञ्चालनको पहल नभएमा विद्यालय व्यवस्थापन समिति विघटन गर्ने चेतावनी दिएका छन् । उनले नेपाल सरकारले २०६८ साल जेठ ११ गते विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरेको स्मरण गराउँदै विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध गर्ने जस्ता क्रियाकलापहरू गर्न नहुने बताए । यस्तै, कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेको खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी पक्राउ गर्न लगाएर लगाएर फौजदारी मुद्दा चलाउन पहल गरिने पनि मेयर शाहले चेतावनी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here