नेपालबाट निर्यात हुने खाद्यपदार्थको गुणस्तर प्रमाणपत्रलाई भारतले मान्यता दिने

काठमाडौं, ५ भदौ । भारतको ‘फुड सेफ्टी एण्ड स्ट्यान्डर्ड अथोरिटी अफ इन्डिया’ (एफएसएसएआई) ले नेपालको ‘राष्ट्रिय खाद्य तथा दाना रिफ्रेन्स प्रयोगशाला’ बाट परिक्षण भई जारी भएको गुणस्तर प्रमाणलाई मान्यता दिने निर्णय गरेको छ ।

नेपालबाट निर्यात हुने झण्डै दुई दर्जन खाद्य पदार्थ, फलफुल तथा तरकारीको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मातहतको उक्त प्रयोगशालाबाट गरीएको गुणस्तर परिक्षणलाई एफएसएसएआईले मान्यता दिने भएको हो ।

भारत निर्यातको लागि थप सहज वातावरण बन्नु स्वागतयोग्य कदम भएको नेपाल उद्योग परिसंघले बताएको छ ।

नेपालबाट भारत निकासी हुँदै आएका यस्ता वस्तुहरुको गुणस्तरको कारण देखाई समय–समयमा भारतीय भन्सारमा रोकिने गरेकोमा यस निर्णयबाट यी वस्तुहरुको भारत निकासी सहज हुने विश्वास परिसंघले लिएको र भारतको निर्णयलाई नेपाल उद्योग परिसंघले स्वागत गरेको छ ।

भारतको गुणस्तर प्रमाणीकरणको निर्णय अनुसार नेपालबाट भारत निर्यात हुने वस्तुहरु मध्ये– जुस, जाम, जेली, अचार, क्याण्डिज, इन्स्टाण्ट नूडल्स, विस्कुट, इन्फुन्ट फूड, दूध, स्किमड होल मिल्क पाउडर, कन्डेन्सेड मिल्क, आइसक्रिम, गुलियो दही, प्रशोधित मासु एवं मासुको उत्पादन, अदूवा, अलैँची, बेसार, चीया, कफी, मह र ताजा फलफूल तथा तरकारी गरी २१ वस्तु समेटिएका छन् ।

नेपालको भारतसँगको बढ्दो व्यापार घाटा केही कम गर्न यस्ता वस्तुको नेपालको गुणस्तरलाई मान्यता दिइनु पर्ने माग परिसंघले उठाउँदै आएको सन्दर्भमा हाल भारत सरकारबाट भएको यस निर्णयले निर्यातमा थप सहजता पुग्ने विश्वास लिएको परिसंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here