चैते धानले पायो दोब्बर मूल्य, धान किन्न व्यापारी खेतखेतमै

बेलबारी । गत वर्षभन्दा यस वर्ष चैतेधानको मूल्य दोब्बर भएपछि मोरङका किसान उत्साहित भएका छन् । गत वर्ष मनको रु ५५० देखि रु ६०० सम्म मूल्य पाएको चैतेधानले यस वर्ष रु १ हजार १०० देखि रु १ हजार २५० सम्ममा कारोबार भइरहेको छ ।

चैतमा रोपेर असारमा काटिने चैतेधानलाई खेतमै पुगेर व्यपारीले राम्रो मूल्य दिन थालेपछि उत्साहित बनेको मोरङ बेलबारी-११ का भगिरथ घिमिरेले बताए । ‘यसअघिका वर्षमा चैतेधानले किसानको उत्पादन गर्दा लाग्ने खर्च पनि उठाउँदैन थियो, तर यो वर्ष नसोचेको मूल्य पायौँ,’ उनले भने ।

चैतेधान लगाउने कृषकलाई कोशी प्रदेश सरकारले प्रोत्साहन स्वरुप प्रतिकठ्ठा रु ५०० दिने निर्णय गरेको छ । तर धेरै किसानले यो सुविधा थाहा नभएको जनाएका छन् । एक बिघा जमिनमा चैतेधान लगाउने गरेका बेलबारी–११ का दिपेन राईले प्रदेश सरकारको यो निर्णय थाहा नभएको त्यो सुविधा पाए किसानलाई राहत हुने बताए ।

मोरङमा १ लाख ११ हजार खेतीयोग्य जमिन रहेको यसमध्ये २१ हजार ९०० हेक्टरमा मात्र चैतेधान लगाउने गरिएको र ८३ हजार ३०० हेक्टरमा बर्खेधान लगाउने गरिएको कृषि ज्ञान केन्द्र विराटनगरका प्रमुख रामदेव सिंहले बताए । उनले यसमा ५.५ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादनको तथ्याङ्क रहेको बताए ।

उचित मूल्यको कमीले चैतेधानप्रति कृषकको आकर्षण घट्दो रहेको थियो तर यस वर्षको मूल्यले कृषकमा चैतेधानप्रति आकर्षण बढाएको छ । हिउँदमा पनि निरन्तर सिँचाइको सुविधा हुने खेतमा चैतेधान लगाउने गरिन्छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here