ललितानिवास प्रकरणमा पक्राउ परेकाको निवेदन आज पनि ‘हेर्न नमिल्ने’

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेकाको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट बिहीबार पनि ‘हेर्न नमिल्ने’मा पुगेको छ । आफूहरुलाई गैरकानूनी रुपमा पक्राउ परेको दावी सहित अदालत गएकाको सुनुवाइ आजपनि नहुने अवस्थामा पुगेको हो ।

मीनबहादुर गुरुङ, धर्मप्रसाद गौतम र सुधीरकुमार शाहले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन बिहीबार न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासमा परेको थियो ।

न्यायाधीश रेग्मीले ललितानिवासको जग्गा अनियमितताको मुद्दा हेर्न मिल्दैन । उनी ललितानिवासको जग्गा खरिदबिक्रीमा जोडिएका छन् ।

यसअघि कानून व्यवसायमा संलग्न हुँदा मिनबहादुर गुरुङ र भाटभटेनी डिपार्टमेन्ट स्टोरको कानूनी सल्लाहकार भएकाले उनले त्यो निवेदन सुनुवाइ गर्न नमिल्ने भएको हो । उनले यसअघि पनि आफूकहाँ परेका ललितानिवास जोडिएका मुद्दा हेर्दैनथे ।

रिटमा प्रारम्भिक सुनुवाइपछि न्यायाधीश डा. कुमार चुडालको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो । यस्तै, यसअघि यही प्रकरणमा मुछिएका केदार घिमिरेसहितले दायर गरेको रिटलाई समेत सँगै राखी सुनुवाइ गर्ने आदेश दिएको थियो ।

घिमिरेसहितले आफूहरूलाई पक्राउ नगर्न माग गर्दै रिट दायर गरेका थिए । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले रिट निवेदकलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here