चितवनमा प्रशासनको कडाई, ५ जना भन्दा बढी भेला हुन निषेध

चितवन, ९ भदौ । सरकारले चितवनमा बढ्दो प्रदर्शनका कारण कडाई शुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला अदालत आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गर्दै कडाई थालेको हो ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टिभी प्रस्तोता रवि लामिछाने मुछिएपछि यहाँ हरेक दिन प्रदर्शन भइरहेको छ ।

कानूनले आफ्नो काम गरिरहेको समयमा भीडले कानून प्रभावित पार्न खोजिरहेको आरोप प्रदर्शनकारीविरुद्ध लाग्ने गरेके छ ।

प्रहरीले लामिछानेसहित पत्रकार युवराज कँडेल र नर्स रुकु कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको छ । सोमबारदेखि लामिछानेको बयान र थुनछेक बहस शुरु हुँदैछ ।

यसै मेसोमा प्रशासनले प्रदर्शन निष्तेज पार्न निषेधाज्ञा जारी गरेको हो । आइतबार अदालतबाट लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको हिरासततर्फ लैजाँदा समेत प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गरेका थिए ।

हरेक दिनजसो हुने प्रदर्शनमा झडप हुने गरेको छ । सोमबार बिहान ६ बजेबाट अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा जारी रहने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

यसक्रममा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले ५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन नपाइने आदेश जारी गरिएको छ ।

कार्यालयका अनुसार भरतपुरको पूर्वतर्फ बाइपास सडकतर्फ आन्तरिक राजश्व कायर्मलयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म निषेधाज्ञा जारी गरिएको छ ।
पश्चिमतर्फ लोकमार्गको सप्तगण्डकी अस्पताल चोकदेखि चौबिसकोठी चोकसम्म पनि भेला भई प्रदर्शन गर्न पाइने छैन ।

उत्तरतर्फ बाइपास सडकको अन्तरिक राजश्व कार्यालय चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेजज जाने चोक, नारायणी मावि, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गको चौबिसकोठी चोकसम्म निषेध गरिएको छ ।

दक्षिणतर्फ बाइवपास सडकतर्फ घरेलु कार्यालयको चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्व पश्चिम लोकमार्गतर्फ सप्तगण्डकी अस्पताल चोकसम्मको क्षेत्र तोकिएको छ ।

निषेधाज्ञा तोड्नेलाई एक महिनासम्मको जेल सजायको व्यवस्था रहेको छ । प्रहरीले करीव १० दिन लामो अनुसन्धानपछि पुडासैनीको आत्महत्या प्रकरणमा लामिछानेको संलग्नताको पुष्टी हुने आधार फेला पारेको बताएको छ ।

तर, भीड भने रवी निर्दोस रहेको र उनलाई फसाउन खोजिएको भन्दै हरेक दिन प्रदर्शनमा उत्रिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here