आयकरसहितका नयाँ कर कार्यान्वयन आजदेखि, पहिलोपटक विलासिता शुल्क लागू

काठमाडौं । आजदेखि आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले घोषणा गरेका विभिन्न कर सम्बन्धी व्यवस्था कार्यान्वयनमा आएका छन् ।

चालु आवदेखि सरकारले पाँचतारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा, आयातित मदिरा, १० लाख रुपियाँभन्दा बढी मूल्यका हीरा, मोती, पत्थरजडित सुन वा बहुमूल्य धातुका गरगहनामा दुई प्रतिशतका दरले विलासिता शुल्क लागू गरेको छ ।

त्यस्तै विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क पनि लागू हुनेछ । त्यस्तै आजदेखि लागू हुने गरी हवाई टिकटमा मूल्य अभिवृद्धि कर पनि लागू हुनेछ ।

भन्सार महसुल, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, सडक निर्माण दस्तुर र मोबाइल फोनको दर्तासम्बन्धी व्यवस्था जेठ १५ कै रातिदेखि कार्यान्वयनमा आएको छ । साथै थप सार्वजनिक सेयर निष्कासन (एफपीओ) मा करसम्बन्धी व्यवस्था र सुजीको कारोबारमा कर छुटसम्बन्धी व्यवस्था पनि कार्यान्वयनमा आइसकेको छ ।

आयकर ऐन २०५८ मा सरकारले गरेको संशोधित व्यवस्था अनुसार आज साउन १ गतेदेखि वाषिर्क ५० लाख रुपैयाँभन्दा बढी कमाउनेलाई ३९ प्रतिशत आयकर लाग्ने छ । यसअघि वाषिर्क २० लाख रुपैयाँभन्दा माथि कमाउनेहरुलाई ३६ प्रतिशत आयकर लाग्ने गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here