बेलायतमा नेपाली नर्स लैजान आवेदन खुल्ला, यसरी दिनुहोस् निवेदन

काठमाडौं । नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउन आवेदन खुलेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘पाइलट प्रोग्राम’ का रूपमा पहिलो चरणमा १०० जना नर्सलाई रोजगारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो।

नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्‌बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा १०० जना नर्सिङ स्टाफ बेलायत पठाउन लागेको हो।

श्रम मन्त्रालय र बेलायती दूतावास, काठमाडौंले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिअनुसार, बेलायत जान इच्छुक नेपाली नर्सले शुक्रबारदेखि आवेदन दिन सक्नेछन् । श्रम मन्त्रालयले नेपाली नर्सलाई आवेदन दिन छुट्टै एप्लिकेसन पोट्रल समेत बनाएको छ ।

बेलायत जान इच्छुक नर्सले शुक्रबारदेखि कात्तिक २ गतेसम्म https://ferms.dofe.gov.np मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

सरकारले ‘गभर्मेन्ट टु गभर्मेन्ट (जीटुजी)’ प्रक्रियाबाट बेलायतमा नर्सिङ जनशक्ति पठाउन लागेको हो। उनीहरूले वार्षिक झन्डै ४७ लाख रुपैयाँ तलब पाउनेछन् भने बेलायतमा रजिस्ट्रर नर्स भइसकेपछि वार्षिक ५८ लाख ५५ हजारसम्म तलब पाउनेछन्। उनीहरूले पाँच वर्ष मात्र काम गर्न पाउनेछन्।

नेपाली नर्सलाई रोजगारीका लागि बेलायत लैजान गत भदौमा दुई देशबीच सम्झौता भएको थियो।

नेपाल नर्सिङ काउन्सिलमा दर्ता भई दुई वर्षको अनुभव भएका २० देखि ४५ वर्ष उमेरका नर्सहरू भर्ना प्रक्रियामा सहभागी हुन पाउनेछन् । भर्ना प्रक्रियामा स्टाफ नर्स, बीएन, बीएससी नर्सिङ, एमएन सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।

प्रतिस्पर्धा गर्नका लागि अंग्रेजी भाषा परीक्षा आईईएलटीएसमा औसत ७ र ओईटीमा ‘बी’ अंक ल्याएको हुनुपर्नेछ । छनोट भएर गएका सहायक स्वास्थ्य हेरचाहकर्मीले बेलायत पुगेको ८ महिनाभित्र स्वास्थ्यसँग सम्बन्धित व्यावहारिक वस्तुपरक परीक्षा (ओएससीई) उत्तीर्ण हुनुपर्नेछ । यसका लागि उनीहरुलाई तीनपटकसम्म परीक्षामा सामेल हुने मौका दिइनेछ ।

नेपालमा ४५ हजार नर्सिङ जनशक्ति मात्र सक्रिय भएको नेपाल नर्सिङ संघको अनुमानित तथ्यांक छ । तीमध्ये नेपाल सरकार अन्तर्गत स्थायी र करारमा १८ हजार नर्स कार्यरत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here