भन्सार कार्यालयमा पुगेर गृहमन्त्रीले भने-‘सुनकाण्डको जरैसम्म पुग्छौं’

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय पुगेका छन् । तस्करीबाट आएको सुन प्रकरणबारे बुझ्न उनी शुक्रबार मध्याह्न भन्सार कार्यालय पुगेका हुन् । स्थलगत अनुगमनपछि मन्त्री श्रेष्ठले पत्रकारहरूलाई घटनामा जोसुकै जोडिएको भए पनि कारबाहीबाट पछि नहट्ने बताए ।

‘कतै तीन ब- बालकोट, बालुवाटार र बूढानीलकण्ठ) मिलेर यो घटना सामसुम पारिने त होइन’ भन्ने सञ्चारकर्मीको प्रश्नमा गृहमन्त्री श्रेष्ठले भने, ‘भ्रष्टाचार र अपराधका कुरा अनुसन्धान गर्दाखेरी मलाई कुनै कोट, टार र पार्टी मतलब छैन ।’ सुन आयात घटनाको जरैसम्म पुगेर दोषीलाई कारबाही गरिने पनि गृहमन्त्री श्रेष्ठले बताए ।

‘नाइकेलाई अनुसन्धानको दायरामा तानिएन नि ?’ भन्ने प्रश्नमा उनले भने, “पुग्छ पुर्‍याउनुपर्छ, यताउता हुने कुरै छैन । अब आगामी दिन यस प्रकारका घटना हुन नदिन योजना बनाएर अघि बढ्छौँ,” उनले भने ।

विमानस्थलको भन्सारमा प्रहरीलाई पनि सामेल गर्ने विषयमा सरकारले सोचिरहेको मन्त्री श्रेष्ठले बताए ।

‘हामीले भन्सारका अधिकारीलाई तपाईंहरूलाई प्रहरी चाहिँदैन ? भनेर सोध्यौं । उहाँहरूले प्रहरी भए राम्रै हुन्छ भन्नुभएको छ । हामीले नै मन्त्रिपरिषदको बैठकमा प्रहरीलाई पनि सामेल गर्नुपर्छ भनेर छलफल गरेका छौं । यसबारे छाँडै आवश्यक निर्णय लिइन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here