काठमाडौं । राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान हरि हजुर थापा चिनको होन्झाउमा हुने १९ औँ एशियाली खेलकुदको प्रशिक्षणमा सहभागी नहुने भएका छन्।
आगामी असोजमा हुने एशियाडका लागि बन्द प्रशिक्षणमा बोलाइएपनि हरि हजुरले स्वास्थ्यको कारण देखाउँदै प्रशिक्षणमा सहभागी नहुने सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘चीनमा हुने एसियन गेमको लागि अन्तिम छनोटमा पर्नु भएको सम्पूर्ण पुरुष खेलाडीलाई हार्दिक बधाई साथै जितको अग्रिम शुभकामना छ। जसमा म स्वयम् छनोट भए पनि स्वास्थले गर्दा तालिममा सरिक हुन नसकेको जानकारी गराउँदछु।’
क्षमतामाथि प्रश्न उठाउँदै भलिबल संघले हरिहजुरलाई कप्तानको जिम्मेवारीबाट हटाएको थियो । उनको स्थानमा मानबहादुर श्रेष्ठलाई राष्ट्रिय टिमको नयाँ कप्तान बनाईएको छ ।