‘मौद्रिक नीतिले ब्याजदर घटाउने नीति लिएको छ, अर्थतन्त्र चलायमान गराउँछ’-अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बताएका छन् ।

नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. महतले ब्याजदर कम भएपछि लगानी बढ्ने र रोजगारीमा पनि वृद्धि हुने विश्वास व्यक्त गरेका हुन् । मौद्रिक नीतिले ब्याजदर घटाउने नीति लिएकाले निजी क्षेत्र प्रवाह हुने लगानी बढ्ने उनको भनाइ छ ।

मन्त्री महतले चालु आर्थिक वर्षमा राजस्व सङ्कलनको लक्ष्य पूरा गर्ने गरी सरकारले योजना बनाएको बताउँदै पूँजीगत क्षेत्रको खर्च बढाउनका लागि समयमै ठेक्का लगाउनुपर्नेमा जोड दिए ।

‘मौद्रिक नीतिले नीतिगत दर घटाएर ६.५ प्रतिशत तोकेको छ, यसले बैंक ब्याजदर स्वतः खुकुलो हुन्छ र बजारमा पूँजी प्रवाह बढ्छ, यसले गर्दा सुस्ताएको अर्थतन्त्र अब चलायमान हुन्छ,’ उनले भने ।

अर्थमन्त्री डा. महतले देश विकासलाई प्रमुख प्राथमिकतामा राखेर सरकार अघि बढेकाले निराश हुनुपर्ने अवस्था नरहेको स्पष्ट पारे । उनले पूँजीगत खर्चलाई बढाउने वित्तिकै आर्थिक क्षेत्रले सुधारको बाटो लिनेमा विश्वास व्यक्त गरे।

उनले आफ्नै सक्रियताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको सुन बरामद गर्न सफल भएको समेत बताए । सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेपछि तस्करीको सुन बरामद भएको बताउँदै अर्थमन्त्री महतले यस प्रकरणमा जरैसम्म पुगेर अनुसन्धान हुने प्रतिबद्धता जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here