एमबाप्पेका लागि अल–हिलालको कीर्तिमानी प्रस्ताव

काठमाडौं । फ्रान्सका फरवार्ड काइलियन एमबाप्पेलाई साउदी अरेबियाको क्लब अल हिलालले ३३२ मिलियन डलर (३०० मिलियन युरो) को प्रस्ताव गरेको छ ।

सोमबार अल हिलालले एमबाप्पेका लागि पेरिस सेन्ट जर्मन (पीएसजी)लाई कीर्तिमानी रकमको प्रस्ताव गरेको हो ।

एमबाप्पे र पीएसजीबीच अब अन्तिम १२ महिनाको सम्झौता बाँकी छ । यो बेला पीएसजीको चाहना नवीकरणमा हुँदा एमबाप्पे भने सम्झौता अवधि समाप्त भएपछि क्लब छोड्न चाहन्छन् ।

एमबाप्पे र अल–हिलालबीच सम्झौता भए यो अहिलेसम्मकै सबैभन्दा ठूलो सरुवा हुनेछ । यसअघि, सन् २०१७ मा पीएसजीले बार्सिलोनाबाट नेइमारलाई २२२ मिलियन युरोमा अनुबन्ध गर्नु नै हालसम्मको सबैभन्दा ठूलो सरुवा हो ।

अल–हिलालले यसअघि अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई पनि कीर्तिमानी रकमको प्रस्ताव गरेको थियो । तर, मेसीले साउदी क्लबको प्रस्ताव इन्कार गर्दै अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीसँग सम्झौता गरे ।

पछिल्लो समय युद्धस्तरमा फुटबलमा लगानी बढाइरहेको साउदी अरेबियाले चर्चित स्टारहरूलाई अनुबन्ध गरेर विश्वको ध्यान खिचेको छ । गएको डिसेम्बरमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो अल–नासरमा अनुबन्ध भएपछि सुरु भएको यो शृंखलामा हालसम्म करिम बेन्जेमा, एन्गोलो कान्टे, फिर्मिन्होजस्ता खेलाडीहरू जोडिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here