पुर्पक्षका लागि थुनामा रहेका खाणबारे कांग्रेस मौन, महामन्त्री थापाको ‘नोट अफ डिसेन्ट’

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंको आदेशले पुर्पक्षका लागि थुनामा रहेका बालकृष्ण खाणबारे कांग्रेस मौन देखिएको छ। सात दिनसम्म चलेको केन्द्रीय कार्यसमितिको बैठकमा खाणको बचाउ र विपक्षमा प्रशस्तै छलफल र बहस भयो, चर्काचर्कीसमेत चल्यो । तर बैठकले खाणबारे कुनै निर्णय गरेको छैन ।

महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमिति बैठकको निर्णय प्रस्ताव गर्दा उक्त विषय समेटिएन।

शर्माले पेस गरेको निर्णयको दोस्रो नम्बर बुँदामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन कांग्रेसकै सरकारले ल्याएको स्मरण गरिएको छ तर नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा थुनामा रहेका खाणबारे बोलिएको छैन।

महामन्त्री गगनकुमार थापाले भने भ्रष्टाचारको अभियोग लागेका खाणलाई पार्टीको सदस्यबाट निलम्बन गर्नुपर्ने र अनुसन्धानका लागि सहयोग पुर्‍याउनुपर्ने भन्दै पार्टीको केन्द्रीय कार्यसमिति बैठकको निर्णयमा ‘नोट अफ डिसेन्ट’ दर्ज गराएका छन् ।

केन्द्रीय कार्यसमिति बैठकमै लिखितरुपमा फरक मत राखेका थापाले निर्णयमा पनि फरक मत दर्ता गराएका छन् ।

बैठकले सरकारले थालेको भ्रष्टाचार नियन्त्रण र सुशासनको कदममा साथ र समर्थन रहेको जनाएको छ । तर खाणमाथि कारबाही वा बचाउबारे बोलेको छैन । बैठकमा खाणको बचाउमा खुलेआम उत्रिएका कांग्रेस नेताहरूले निर्णयमा भने मध्यमार्गी बाटो रोजेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here