बागमती प्रदेशमा गाडी भाडा घट्यो, काठमाडौंमा चढ्नबित्तिकै १८ रुपैयाँ

फाइलफोटो

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेश भित्रका सार्वजनिक सवारीको भाडादर समायोजन गरेको छ। साउन ९ गतेको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय बैठकले बिहिबारबाट लागु हुने गरी भाडा समायोजन गरेको हो।

काठमाडौं उपत्यकाभित्र सार्वजनिक बसमा शून्यदेखि पाँच किलोमिटरसम्म यात्रा गर्दा अब १८ रुपैयाँ भाडा लाग्नेछ । पहिले पाँच किलोमिटरसम्मको भाडा १९ रुपैयाँ रहेको थियो ।

यस्तै, उपत्यकाभित्र १० किलोमिटर यात्रा गर्दा अब २४ रुपैयाँ भाडा लाग्नेछ । पहिलो १० किलोमिटरसम्मको भाडा २५ रुपैयाँ रहेको थियो ।

१५ किलोमिटरसम्म यात्रा गर्दा पहिला ३० रुपैयाँ रहेकोमा अहिले २९ रुपैयाँ तोकिएको छ । यस्तै, २० किलोमिटरसम्मको भाडा पहिला ३३ रुपैयाँ रहेकोमा अहिले ३२ रुपैयाँ तय गरिएको छ ।

२० किलोमिटरभन्दा लामो दूरीको भाडा पहिले ३८ रुपैयाँ रहेकोमा अहिले ३७ रुपैयाँ तोकिएको छ ।

यस्तै, प्रदेश भित्र चल्ने (लामो–छोटो दूरी) मालबाहक सवारी साधनको भाडादर ३.१८ प्रतिशतले घटेको छ । यसका साथै, प्रदेशभित्रका ठूला सहरी क्षेत्रमा चल्ने सिटी बसको भाडादर ३.२६ प्रतिशतले घटेको छ ।

विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि पछिल्लो समय नेपाल आयल निगमले समेत मूल्य समायोजन गर्दै आइरहेको छ ।

पछिल्लो पटक निगमले १५ दिनको अवधिमै पेट्रोलियम पदार्थको मूल्य दुई पटक समायोजन गरिसकेको छ । यस्तै, निगमले अबदेखि स्वचालित मूल्य प्रणाली लागू गर्ने घोषणा समेत गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here