काठमाडौंसहित देशका पहाडी भागमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । मनसुनी वायुको साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले आज काठमाडौंसहित देशका धेरैजसो पहाडी भागमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज बिहानैदेखि कोशी र बागमती प्रदेशका थोरै स्थानहरूका साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

‘आज कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ’, महाशाखाको बुलेटिनमा उल्लेख छ।

आज राती बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै कोशी र लुम्बिनी प्रदेश सहित देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ।

शनिबार र आइतबार पनि नेपालमा मनसुन सक्रिय हुने भएकोले कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here