रवि लामिछानेको ‘स्लोगन’-‘बिनाढेउवा के एक सयजनालाई रोजगारी’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विदेशमा रहेका नेपालीलाई स्वदेशमै रोजगारको घोषणा गरेको छ। पार्टी सभापति रवि लामिछानेले वैदेशिक रोजगारीमा रहेका तर स्वदेश फर्किन चाहनेका लागि एक सयभन्दा बढी रोजगारको घोषणा गरेका हुन्।

गत वर्षको प्रतिनिधिसभा निर्वाचनका क्रममा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भाषणमा बोलेर भाइरल भएको विषयलाई रविले विज्ञापनको ‘स्लोगन’ बनाएका छन् ।

उनका अनुसार विश्वका विभिन्न देशमा रहेका नेपालीले छनोट प्रक्रियामार्फत स्वरोजगार बन्न सक्नेछन्। सभापति लामिछानेले विदेशी पत्रिका तथा चोकहरूमा विज्ञापन गरी इच्छुक नेपालीलाई फ्री टिकटमा फर्किन आग्रह गरेका छन्।

सभापति लामिछानेले यसअघि निर्वाचनको समयमा फ्री टिकटको व्यवस्था गरी विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने अभियान चलाउने बताएका थिए।

सामाजिक सञ्जालमा भनेका छन् -‘यी विज्ञापनहरु विभिन्न देशका पत्रिका, अनलाइन र चोकका पसलहरुमा छापिएका छन्, छापिँदै छन् । चुनावमा आफूले बोलेअनुसार फ्री टिकटमा नेपालमै फर्किन चाहनेका लागि १०० भन्दा बढी जागिरको व्यवस्था गरेका छौँ, त्यो पनि ‘बिना ढेउवा के’,” रविले समाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, “अहिलेका लागि यी रोजगारी खोजिएको हो, छिट्टै रोजगारी सृजना गर्ने वातावरण बनाउनेछौँ ।’

उनले आफूले उपनिर्वाचनमा विजय हासिल गरेको १०० दिन पूरा भएको भन्दै बोलेका कामबारे आफ्नै निर्वाचन क्षेत्रमा गएर जानकारी दिने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here