रविले चितवनमा संचालनमा ल्याए ‘ब्लु बस’, महिलाले भाडा तिर्न नपर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनमा ‘ब्लु बस’ सेवा संचालनमा ल्याएका छन् ।

उनले आफू निर्वाचित भएको १०० दिन पुगेको अवसरमा चितवन क्षेत्र नं. २ का महिलाहरुका लागि निःशुल्क बस सेवा संचालनमा ल्याएका हुन् ।

उक्त बस सेवा चितवन क्षेत्र नं. २ का विभिन्न रुटमा संचालन हुने लामिछानेले जानकारी दिए । उक्त बसमा यात्रा गर्दा महिलाहरुले भाडा तिर्नुपर्दैन । पहिलो चरणमा त्यस क्षेत्रका ५०० महिलाका लागि निःशुल्क यातायात कार्ड दिइने उनले बताए ।

माग र उपयोगको समन्वय गरी भविष्यमा यस्ता बसको संख्या बढाइने उनको भनाइ छ । बस संचालन गर्नु संघीय सांसदको काम र क्षेत्रधिकारमा नरहे पनि सार्वजनिक यातायातको नमून कस्तो हुनुपर्छ भनेर देखाउन यो सेवा थालनी गरिएको लामिछानेले बताए ।

‘बस सेवा संचालन गर्ने संघीय सांसदको काम हुँदै होइन, क्षेत्रधिकार पनि होइन, मलाइ थाहा छ,’ लामिछानेले भने, ‘तर एउटा निर्वाचित नीति निर्माताले सार्वजनिक यातायात कस्तो हुनुपर्छ भन्ने सपना देख्नुपर्छ । अझ सार्वजनिक सवारीमा महिलाको सुरक्षा र प्राथमिकता कस्तो हुनुपर्छ भनेर देख्नुपर्छ, देखाउनु पर्छ ।’

उनले उक्त बसमा यात्रुहरुको सुझावका लागि सुझावपेटीका पनि राखेका छन् । यस्तै, उनले आफ्नो निर्वाचन क्षेत्रमा निःशुल्क क्लिनिक सेवा पनि दिने गरी एम्बुलेन्स सञ्चालनमा ल्याएका छन् । उक्त एम्बुलेन्सले हरेक दिन नयाँ टोलमा गएर ६५ माथिका वृद्धवृद्धालाई उपचार सेवा दिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here