‘विद्युतीय सवारीसाधनलाई शतप्रतिशत विद्युत् ग्यारेन्टी लिन्छौं’

फाइलफोटो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारीसाधनका लागि प्राधिकरणले शतप्रतिशत विद्युत्‌को ग्यारेन्टी गर्ने प्रतिबद्धता जनाएका छन् ।

न्युज एजेन्सी नेपालले मंगलबार गरेको निजी र सार्वजनिक सवारीसाधनको प्रयोगमा देखिएका समस्या र समाधान विषयक अन्तर्क्रियामा घिसिङले विद्युतीय सार्वजनिक तथा निजी सवारीसाधन बढ्दा नेपालमा उत्पादित विद्युत् नपुगे भारतबाट आयात गरेर भए पनि १०० प्रतिशत विद्युत् ग्यारेन्टी गर्ने प्रतिबद्धता जनाए । उनले विद्युतीय सवारीसाधन बढ्दै जाँदा विद्युत् अभाव हुने चिन्ता लागे पनि विद्युत् अभाव नहुने दाबी गरे ।

प्राधिकरणले अहिले विद्युत् निर्यात गरिरहेको भन्दै विद्युतीय सवारीसाधनलाई नपुग्ने भन्ने कुरा गर्न नमिल्ने भन्दै उनले मुलुकभित्रै खपत बढाउने नीति लिएको बरु निर्यात कम गर्नसक्ने जनाए । विद्युतीय सवारीसाधनका लागि जति पनि विद्युत् पुग्ने भन्दै हरेक वर्ष प्राधिकरणले एक हजार मेगावाट थप गरिरहेको उनको भनाइ छ । ‘विद्युतीय सवारीसाधनमा समस्या देखिँदैन । रातभर, दिनभर र चौबीसै घण्टा चार्ज गर्दा पनि भयो । त्यसमा समस्या गर्दैन,’ उनले भने, ‘विद्युतीय सवारीसाधन बढ्दै छ । विद्युत् पुग्छ कि पुग्दैन भन्ने मान्छेहरुलाई चिन्ता छ । धेरै विद्युतीय सवारीसाधन आउँदा लोडसेडिङ भयो भने के गर्ने ? विद्युतीय सवारीसाधनलाई विद्युत् नपुग्ने कुरा नगरौं । प्राधिकरणले निर्यात गरिरहेको छ । बरु निर्यात कम गरौंला ।’

भारतबाट विद्युत् आयात गर्दा ४ रुपैयाँमा आयात गर्ने भन्दै उनले अब गाउँ-गाउँमा पनि इन्डक्सन चुलो बाल्नुपर्ने सुझाए । गाउँघरमा दाउराको विकल्प भएकाले इन्डक्सन चुलो चौबीसै घण्टा बाल्छु भन्न नहुने पनि धारणा राखे । ‘गाउँ-गाउँमा इन्डक्सन चुलो बालौं । एकछिन विद्युत् जाँदैमा दाउरा बाल्यौं । इन्डक्सन चुलो चौबीसै घण्टा विद्युत् भयो भने मात्रै बाल्छु भनेर मात्रै हुँदैन । विकल्प हामीसँग छ । कुनै समय विद्युत्‌मा समस्या हुँदा विकल्प छ भन्ने हिसाबले अघि बढ्नुपर्छ,’ घिसिङले भने ।

उनले विद्युत् आयात गरेर विद्युतीय सवारीसाधन चलायो भने पनि प्राधिकरणलाई १५ गुणा नाफा रहेको जनाए । ‘मुलुकभित्रै विद्युत् खपत बढाउने भनेका छौं । विद्युतीय सवारीसाधनको लागि जति पनि विद्युत् पुग्छ । हेरक वर्ष प्राधिकरणले १,००० मेगावाट विद्युत् पथ गरिरहेका छौं । विद्युतीय गाडीको लागि यदि कुनै महिना पुगेन भने विद्युत् आयात गरेर विद्युतीय सवारीसाधन चलायो भने पनि प्राधिकरणलाई १५ गुणा नाफा छ,’ घिसिङले भने, ‘भारतबाट विद्युत् आयात गर्दा ४ रुपैयाँमा आयात गर्छु । त्यही पेट्रोलियम पदार्थ आयात गर्दा १५ रुपैयाँ पर्छ । विद्युत् अभाव हुन्छ भन्ने कुरामा डराउन भएन । विद्युत्‌को १०० प्रतिशत ग्यारेन्टी गर्नसक्छौं । चार्जिङ स्टेसनको संरचना बढाउनुपर्छ । सरकारले विद्युतीय सवारी सप्लाई कम्पनीले पनि २० प्रतिशत चार्जिङ स्टेसनका राख्नुपर्छ भन्ने नीति लिनुपर्छ ।’

उनले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसन राख्नुपर्छ भनेर देशभरका ५१ स्थानमा स्मार्ट चाजिङ स्टेसन सञ्चालन भइरहेको जानकारी पनि दिए । उनले सुर्खेत, मुल्कोट, काठमाडौंको चार/पाँच ठाउँमा चार्जिङ स्टेसन रहेको जनाए । प्राधिकरणको कम्पाउन्डभित्र रहेको चार्जिङ स्टेसन चौबीसै घण्टा लाइन लाग्ने गरेको उनले जनाए । उनले प्राधिकरण थप १३ वटा चार्जिङ स्टेसन बनाउने तयारीमा रहेको जानकारी दिए । प्राधिकरणले बनाएका चार्जिङ स्टेसनले मात्रै नपुग्ने भन्दै अन्य धेरै ठाउँमा आवश्यक रहेको भन्दै उनले सार्वजनिक चार्जिङ स्टेसनको विशेष व्यवस्था गरेको जनाए । विनियम संशोधन गरेर २०० सम्मको ट्रान्सफर्मर प्राधिकरणले राखिदिने व्यवस्थासमेत गरेको र विद्युतीय गाडी जुनबेला बत्ती आउँछ त्यो बेला चार्ज गर्दा हुने उनको भनाइ छ ।

उनले शतप्रतिशत विद्युत् सप्लाई हुन्छ भनेर नेपालको अहिलको सिस्टममा भन्न नसक्ने जनाए । सहज रुपमा सबैलाई विद्युत् पुर्‍याउन ठूलो लगानी आवश्यक रहेको घिसिङको भनाइ छ । उनले करिब ५ देखि ६ खर्बको लगानी गरेपछि मात्रै युरोपको जस्तो विद्युत् चौबीसै घण्टा पाउने दाबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here