निर्माण व्यवसायीको माग पूरा गर्न उद्योग वाणिज्य महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले निर्माण व्यवसायीहरुको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।

निर्माण सम्पन्न भएका योजनाको भुक्तानी पाउनु पर्ने र समस्याग्रस्त आयोजनाको ठेक्काको म्याद एकमुष्ट थप गर्नुपर्ने मुख्य माग राखी आन्दोलन गरिरहेको निर्माण व्यवसायीहरुको जायज माग सम्बोधन गर्न महासंघले नेपाल सरकार समक्ष आग्रह गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार एक विज्ञप्ति प्रकाशन गरेर महासंघको सदस्य नेपाल निर्माण व्यवसायी महासंघको आन्दोलनप्रति ध्यानाकर्षण भएको बताएको छ ।

व्यवसायीले निर्माण कार्य सम्पन्न गरेपनि भुक्तानी नहुँदा वित्तिय प्रणाली र समग्र अर्थतन्त्रमा नै नकारात्मक प्रभाव परेको हुँदा त्यसतर्फ संवेदनशील हुन महासंघले सरकारलाई आग्रह गरेको छ ।

विकास निर्माणका कामसर्वसाधारणको जीवनयापनसँग समेत जोडिएको हुँदा त्यसको भुक्तानी समयमै हुनुपर्ने, पुँजीगत खर्च ६१ प्रतिशत मात्रै हुँदा सकारात्मक सन्देश नगएको लगायतका विषय उल्लेख गरेर महासंघले सरकारको ध्यानाकर्षण गराएको हो ।

निर्माण, उद्योग र थोक व्यापार नकारात्मक रहँदा अर्थतन्त्र मन्दीमा गएको महासंघले बताएको छ । सोही कारण बैंक वित्तिय संस्था, सिमेन्ट, छड जस्ता निर्माण सामाग्री उत्पादक र सरकारको राजश्वमा पनि गम्भीर असर परेको महासंघले जनाएको छ ।

अर्थतन्त्र मन्दीमा जाँदा राजश्व १३ प्रतिशतले घटेको तथा उद्योगहरू करिब ३० देखि ३५ प्रतिशत क्षमतामा मात्रै चलिरहेका महासंघको विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here