काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘जनतासँग पार्टी’ अभियान चलाउने भएको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांगठानिक प्रतिवेदन पेश गर्दै भदौदेखि कात्तिकसम्म तीन महिने अभियान चलाउने प्रस्ताव गरेका छन् ।
अभियानमा जनताको गुनासो र सुझावलाई ल्याएर मंसिरमा पार्टी सुदृढ गर्नको लागि विधान सम्मेलन गर्ने माओवादीको तयारी छ । जनतासँग गरेको बाचाअनुसार सरकार र पार्टीले गरेको कामलाई लिएर अभियानमा हरेक नेता कार्यकर्ताले जनताको घरदैलोमा पुग्नुपर्ने प्रस्ताव प्रचण्डको छ ।
सहर, सिंहदरबार, बालुवाटार, प्रदेश सदरमुकाममा नेता–कार्यकर्ता केन्द्रित हुने, पद र प्रतिष्ठाका लागि जेसुकै पनि गर्ने, अपारदर्शी जीवनशैलीजस्ता प्रवृत्ति बढेको भन्दै प्रचण्डले विधानको सम्मान गर्दै जनतामाझ जानुपर्ने प्रस्ताव गरेका छन्।
उक्त अभियानअन्तर्गत पार्टीको महाधिवेशनको दस्ताबेजमा आधारित रहेर व्यापक बहस, अन्तरक्रिया र प्रशिक्षण गर्ने । मंसिरमा हुने विधान अधिवेशनसम्म संगठन र त्यसपछि विशेष महाधिवेशनसम्म नयाँ वैचारिक संश्लेषणमा पुग्ने कार्ययोजनामा उल्लेख छ।
पार्टी र जनस्तरसम्म गणतन्त्रका उपलब्धि प्रचारप्रसार गर्ने, सूचना प्रविधिको विकास र समाजवादी आन्दोलनमा त्यसले पार्ने प्रभावका विषयमा छलफल, डिजिटल प्लेटफ्रम, आइसिटी तालिमलगायत कार्यक्रम सञ्चालन गर्ने प्रतिवेदनमा उल्लेख छ।
अभियानका क्रममा देशभरका सबै ६ हजार ७४३ वटै वडा समिति गठन गर्ने, सबै जातीय मोर्चाले आफ्नो जनसंख्याको कम्तीमा १० प्रतिशतलाई संगठित गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।