न्यून चापीय प्रणालीको प्रभाव, पाँच प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

महाशाखाका अनुसार नेपालमा मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ। उक्त रेखाको पूर्वी भाग केही दिनमा सरदर स्थानभन्दा उत्तर तर्फ सर्ने क्रममा रहेको छ ।

आज दिउँसो पाँच प्रदेशमा भारी वर्षा र देशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा हुनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई भू-भाग र मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्नेछ।

राति सुदूरपश्चिम प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराई भू-भाग र मधेस प्रदेशका थोरै स्थानमा हावाहुरी चल्ने महाशाखाको पूर्वानुमान छ ।

महाशाखाले आज बिहान जारी गरेको मौसम बुलेटिनमा आगामी आइतबारसम्म देशका विभिन्न स्थानमा वर्षा हुने उल्लेख गरेको छ । भोलि शनिबार सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ। साथै कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना छ। लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई भू-भाग र मधेस प्रदेशका थोरै स्थानमा हावाहुरी चल्नेछ ।

राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

यस्तै आइतबार देशका अधिकांश स्थानमा वर्षा हुनेछ । कोशी, बागमती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुने पूर्वानुमान छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना छ।

राति कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराई भू-भाग र मधेस प्रदेशका थोरै स्थानमा हावाहुरी चल्ने महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here