काठमाडौं । केही दिनयता गोलभेंडाको मूल्य अकाशिएको छ। एक सातामै झण्डै दोब्बरले मूल्य वृद्धि भएको छ। स्थानीय उत्पादन कम भएकाले तरकारीको मूल्य बढेको कालिमाटी तकारी बजार समितिले जनाएको छ।
आइतवार ठूलो गोलभेंडा (नेपाली) को अधिकतम मूल्य १८० रुपैयाँ रहेको छ।
सानो गोलभेडा (टनेल) को मूल्य ११० रुपैयाँ छ। गोलभेडा सानो(लोकल)को ८० रुपैया रहेको छ । थोकको तुलनामा खुद्रा बजारमा भने झनै महंगो रहेको छ ।
गोलभेंडामा डेढ महिना अवधिमै प्रतिकिलो १४ सय प्रतिशतले मूल्यवृद्धि भएको छ । गत असार ३ मा भाउ नपाएको भन्दै किसानले कालिमाटीमा ३० हजार किलो गोलभेंडा फ्याक्दा प्रतिकिलो जम्मा ८ रुपैयाँ थियो । यसले उपभोक्ता मारमा परेका छन् ।
व्यापारीहरूले किसानबाट न्यून मूल्यमा खरिद गर्ने र धेरै नाफा खाएर बेच्ने गरेका छन् । जसकाे कारण उपभोक्ता महंगाे मूल्यमा किन्न बाध्य छन् भने किसानले उत्पादनकाे समेत मूल्य पाउँदैनन् ।
वर्षाले गर्दा किसानको बारीमा लगाइएको तरकारी उत्पादन कम भएकोले मूल्य अझै बढ्ने व्यापारीहरु बताउँछन् । मुख्यतः अहिले फलफूल तथा तरकारीको मूल्यवृद्धि हुनुमा मौसमनै कारक रहेको सरोकारवालाहरु बताउँछन् ।
तर बेलाबेलामा बढ्ने तरकारीको मूल्यले भने हरेक नेपालीको भान्साको मूल्य बढाइदिन्छ । तरकारीको मूल्य बढ्नुको प्रमुख कारण भनेकै आपूर्ति कम हुनु हो । जब तरकारीको आपूर्ति बढ्दै जान्छ, स्वतः तरकारीको मूल्य घट्दै जान्छ ।
नेपालमा तरकारी तथा फलफूल कम उत्पादन हुने भएकाले तरकारी छिमेकी मुलुक भारतबाट आयात गर्नुपर्ने अवस्था छ ।
























