तीन दलभित्रै समेटियो संसदीय समिति सभापतिको भागबण्डा, रास्वपा र राप्रपाले पाएनन् नेतृत्व

काठमाडौं । दलहरूबीच संसदीय समितिको भागबण्डा मिलाएको छ । सत्तारुढ र प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरूले संसदीय समितिको भागबण्डा टुंगो लगाएका हुन् ।

जसअनुसार नेपाली कांग्रेसको भागमा चार, एमालेलाई तीन, माओवादीलाई दुई, एकीकृत समाजवादी, जसपा र जनमत पार्टीको भागमा एक एक संसदीय समिति परेको छ ।

तर, प्रतिपक्ष दल राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने संसदीय समिति सभापति नपाउने भएका छन् । संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २० र राप्रपाका १४ सांसद छन्।

प्रारम्भिक सहमति अनुसार नेपाली कांग्रेसले अर्थ, कृषि, संसदीय सुनुवाइ र राज्य व्यवस्था समिति पाउने छ । त्यस्तै लेखा, महिला र राज्यका निर्देशक सिद्धान्त समितिको सभापति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पाउने सहमति छ ।

त्यस्तै विकास र कानुन समिति माओवादी केन्द्रले पाउने छ भने अन्तर्राष्ट्रिय सम्बन्ध समिति जसपाले पाउने सहमति भएको छ । त्यस्तै उद्योग समिति जनमतले र शिक्षा समितिको सभापति एकीकृत समाजवादीले पाउने छ । थप समितिको बारेमा नेताहरूबीच छलफल भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here