७१ जिल्लामा फैलियो डेंगु, सबैभन्दा धेरै सुनसरीमा

काठमाडौं । नेपालमा सात हजार सात सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

स्वास्थ्य सेवा विभाग इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासीनीले हालसम्म सात हजार सात सय ३३ जना संक्रमित भएको जानकारी दिए।

सोमबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै डा.मरासीनीले सबैभन्दा धेरै सुनसरीमा संक्रमित संख्या रहेको बताउँदै ७१ जिल्लामा डेंगु संक्रमण देखिएको बताए।

सबै जिल्लामा डेंगु सार्ने लामखुट्टे रहेको र जतिबेला पनि डेंगु सर्न सक्ने भन्दै उनले हालसम्म ७ जनाको मृत्यु भएको जानकारी दिएका हुन्।

‘गत वर्ष करिब ५४ हजार सात सय ८४ केसहरु रिपोर्टेड भएका थिए। जसमध्ये ८८ जनाको मृत्यु भएको रेकर्ड छ। समुदायमा धेरै केस भएको हाम्रो अनुमान हो। निजि स्वास्थ्य संस्थाको रेकर्ड हामीसँग नभएको हुन सक्छ,’ उनले भने, ‘डेंगुको पहिलो केस नेपालमा २०६१ सालमा देखिएको थियो। विभिन्न समयमा यसले महामारीको रुप लिने गरेको छ। सन् २०१९ र सन् २०२२ मा महामारीको रुप लिएको थियो। यस वर्ष हामी सचेत हुनुपर्ने कारण केछ भने जनवरी १ देखि अगष्ट ६ सम्म सात हजार सात सय ३३ केस रिपोर्ट भइसकेको छ।’

सबैभन्दा बढि केस सुनसरीबाट रिपोर्ट प्राप्त भएको पनि उनले बताए।

‘सुनसरीको पनि खास गरी धरान उपमहानगरपालिकामा संक्रमित धेरै छन्। जुलाईमा धेरै केस देखिन्छ। यस्तै सात जनाको मृत्युु भएको छ। जतिपनि बिरामीको मृत्यु भएको छ डेंगीले मात्रै मृत्युु भएको छैन,’ उनले अघि भने, ‘आइसोलेटेड डेंगीका कारण मृत्यु भएको छैन। कतिपय बिरामीहरू किड्नीका हुनुहुन्थ्यो। कतिपयले डायलायसीस गराइरहनुभएको थियो। कतिपय बिरामी सुुगरको हुनुहुन्थ्यो।’

स्वास्थ्य सेवा विभाग स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले डेंगु संक्रमितको उपचार नेपाल सरकारका सबै अस्पतालमा नि:शुल्क हुने गरेको पनि बताए। डा.पोखरेलले डेंगु रोकथाम र नियन्त्रणका लागि लार्भा खोज र नष्ट गर अभियानलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।

‘डेंगु भएका व्यक्तिको उपचार नेपाल सरकारको सबै अस्पतालमा हुन्छ। र, यो निशुल्क उपलब्ध हुन्छ। डेंगु लागेको शंका लागेमा टेष्ट गर्नुपर्ने हो। टेष्टमा शुुल्कको एकरुपताका लागि मन्त्रालयले पनि समन्वय गरिरहेको छ,’ उनले भने, ‘प्राइभेट अस्पतालहरुसँग पनि समन्वय गरेर टेष्टमा एकरुपता ल्याउने कोसीसमा छौं। कहिँ पाँच सयपचास रुपैंया कहिँ नौ सय रुपैंया पनि छ। नेपाल सरकारका केही अस्पतालमा डेंगुलागेको शंका लागेमा गर्नुपर्र्ने टेष्ट केहि निशुल्क पनि गरिरहेका छौं।’

शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा.बिमल शर्मा चालीसेले डेंगु नियन्त्रणका लागि जनचेतना आवश्यक रहेको बताए। उनले डेंगुबाट बच्न लार्भा खोजर नष्ट गर अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताए।

‘डेंगुका चार वटा सेरोटाइपमध्ये कुनै एउटा सेरोटाइपले इन्फेक्सन गर्‍यो भने कमसेकम पनि १८ महिनादेखि २ वर्षसम्म अर्को सेरोटाइपले इन्फेक्सन गर्दैन। डेंगीलागेपनि गम्भीर नभएसम्म अस्पतालमा नआएको देखिएको छ,’ उनले भने, ‘डेंगुका गम्भीर बिरामी मात्रै अस्पतालमा आएकाले बिरामीको चाप कम देखिएको हुनसक्छ। डेंगी उल्लेख्य रुपमा बढेको छैन।’

नेपालमा डेंगुको पहिलो केस विसं २०६१ सालमा देखिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here