काठमाडौं । लगातार वर्षा भएका कारण सडक आडको पहाडी थुम्काबाट लेदोसहितको पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक मंगलबार बिहानैदेखि अवरूद्ध छ ।
पहिरो सफा गरेर बाटो खुलाउन कम्तिमा तीन घन्टा लाग्ने भरतपुरमा रहेको डिभिजन सडक कार्यालयले जानकारी दिएको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामेश्वर कार्कीले नारायणगढ–मुग्लिन सडकको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा आज बिहान सवा पाँच बजेतिर लेदोसहितको पहिरो खसेको जानकारी दिए । अन्यत्र पनि स–साना पहिरोहरू गएको डिभिजन सडक कार्यालयले जनाएको छ ।
नारायणगढ मुग्लिन सडक संघीय राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्व र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो ।
यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी मालबाहक ट्रक, यात्रु बस र साना ठूला अन्य निजी गााडी ओहरदोहर गर्दछन् । तर बर्खा लागेसँगै पहिरो खसेर लामो समय बाटो अवरूद्ध हुने समस्या छ ।