काठमाडौंमा भारी वर्षा, वाग्मती, विष्णुमती, धोविखोलाको तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं । काठमाडौंमा गएरातिदेखि भारी वर्षा भएको छ । काठमाडौं उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भएको छ ।

भारी वर्षापछि विष्णुमती, धोविखोला, मनोहरा लगायतमा जल सतह सतर्कता तहमा पुगेकोले नदी तटीय क्षेत्रहरूमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

अविरल वर्षातका कारण विष्णुमती, धोविखोला, मनोहरा लगायतमा जलसतह बढ्दो रहेको र सतर्कता नजिक पुगेकाले तटीय क्षेत्रमा बिहान ११ बजेसम्म सतर्कता अपनाउन भनिएको छ।

हाल वाग्मतीको पधेरादोभान (कर्मैया) जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको छ । जलसतह अझै बढ्दो क्रममा रहेकाले रौतहट र सर्लाहीका वाग्मती नदी तटीय क्षेत्रमा हुनेहरूले आज बेलुकासम्मै उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन महाशाखाको आग्रह छ ।

पछिल्लो ३ देखि ६ घन्टामा बागमती जलाधारको हरिहरपुगढी सिन्धुली, मरिन कुशुनटार र आसपास भारी वर्षा भएको महाशाखाले बताएको छ।

थप वर्षात् हुने देखिएकाले कोखाजोर खोला, मरिन खोला र आसपासका स–साना खोलामा आकस्मिक बाढी आउने उसको अनुमान छ । त्यस आसपास ठाउँका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले आज दिउँसो १ बजेसम्म उच्च सतर्कता अपनाउन भनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here