महिनावारी हुँदा गोठमा सुतेकी १६ वर्षीया किशोरीको सर्पले टोकेर मृत्यु

काठमाडौं । सर्पले टोकेर बैतडीमा महिनावारी हुँदा गोठमा सुतेकी १६ वर्षीया किशोरीको मृत्यु भएको छ।

मंगलबार राति साढे १२ बजेतिर पञ्चेश्वर गाउँपालिका ४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो।

घरमा एक्लै सुतेकी चन्दले राति सर्पले टोकेको भनेर चिच्याएपछि छिमेकीहरू पुगेका थिए। अनिता महिनावारी भएको मंगलबार ४ दिन पुगेको थियो। ४ दिनदेखि उनी गाइ–भैंसी बाँध्ने गोठमा सुत्दै आएकी थिइन्।

आँगनमा रोइकराइ गरिरहेकी किशोरीकी आमा बदेलले मकै खाने भएर पहरा दिन २० मिनेट जति टाढाको खेतमा गएकी थिइन्। किशोरीका बुवा र एक जना दाजु भारतमा छन्। अर्का दाजु एक जना महेन्द्रनगरमा पढाई गर्न गएका छन्।

अनिता नजिकैको जवलपुर मावि सैलोडामा कक्षा ९ मा अध्यानरत थिइन्।

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा अहिले पनि महिला तथा किशोरीहरु गोठमा सुत्ने गर्छन्।

पञ्चेश्वर–४ का कर्मचारी चन्दका अनुसार पहिलेको तुलनामा महिनावारी भएको बेला गोठमा सुत्ने ‘प्रथा’ अहिले कम भएको छ। तर केही परिवारका महिला भने देवी–देउताको डरले अहिले पनि महिनावारी हुँदा गोठमै सुत्ने गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here