गोरखामा भेटिएको टल्किने ढुङ्गा ‘कार्ज क्रिस्टल’ पुस्तौंदेखि देवता पुज्दै आएकाले फिर्ता नपाउने

काठमाडौं । खानी तथा भूगर्भ विभागको टोलीले गोरखामा भेटिएको टल्किने ढुङ्गा ‘कार्ज क्रिस्टल’ भएको पुष्टी गरेको छ।

खानी तथा भूगर्भ विभाग काठमाडौंबाट गएका भूगर्भविदहरूले दुई दिन लगाएर गरेको परीक्षणमा पारदर्शी ढुङ्गा क्वार्ज क्रिष्टल भएको प्रमाणित भएको हो।

भूगर्भविद् सुस्मिता भण्डारी र दुर्गा बेलाखेले प्रकाश दिँदा टल्किने ढुङ्गा परीक्षण गरेका थिए।

टल्कने ढुङ्गाको परीक्षण सम्पन्न गरेपछि विभागको टोलीले बुधबार जिल्ला प्रशासन कार्यालयमा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल र प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठलाई परीक्षणपछिको अध्ययन प्रतिवेदन बुझाएको हो।

जिल्ला प्रशासन कार्यालय गोरखाले टल्कने ढुङ्गाको नमूना परीक्षणका लागि खानी तथा भूगर्भ विभागलाई पत्राचार गरेपछि विभागले भूगर्भविद् डा. भण्डारी र दुर्गा बोलाखेको टोली गोरखा पठाएको थियो।

टोलीले गरेको परीक्षणका क्रममा उक्त ढुङ्गाको तौल ५२ किलो तीन सय ३० ग्राम रहेको पाइएको छ। क्वार्ज क्रिष्टल मुख्य रुपमा सजावटका सामग्री तथा गरगहना बनाउन प्रयोग हुने गरेको भूगर्भविद्हरुले बताएका छन् ।

गएको असार १४ गते प्रहरीले उक्त टल्कने ढुङ्गा सतिपिपलस्थित स्थानीयवासी राममाया शाहीको घरबाट बरामद गरेको थियो। टल्कने ढुङ्गा वर्षौंदेखि शाही परिवारले घरमा राखेर पूजा गर्दै आएको पाइएकाले उक्त ढुङगा गोरखकाली मन्दिर या गोरखनाथ मन्दिर परिसरमा राख्न गोरखाका विभिन्न संघसंस्थाले प्रशासनसँग माग गर्दै आएका छन्।

टल्कने ढुङ्गा ऐतिहासिक महत्त्वको भएको हुनसक्ने भन्दै गोरखा दरबार परिसरमा प्रणप्रतिष्ठा गरी व्यवस्थापन गनुपर्नेमा सङ्घसंस्थाको जोड छ। पूजाआजा र धर्मकर्ममा प्रयोग गरिरहेको बल्ने शिला कुनै पनि बहानामा गोरखा जिल्ला बाहिर नपठाइ मूलधनीको इच्छाअनुसार गोरखकाली र गोरखनाथको पवित्र भूमिमा राख्नुपर्ने स्थानीयवासीको पनि भनाइ रहेको छ।

भूगर्भविदहरूले खानी तथा खनिज पदार्थ ऐन २०४२ को दफा २५ अनुसार बहुमूल्य क्वार्ज क्रिष्टल विभाग बुझाउनुपर्ने बताएका छन्।

उक्त ऐनको दफा २५ मा ‘अनुमति नलिई निकालिएको खनिज पदार्थ जफत गर्नुका साथै त्यस्तो व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ’ भन्ने व्यवस्था छ।

शाही परिवारले उक्त पत्थर पुस्तौंदेखि देउताका रूपमा पुज्दै आएको बताएका छन्। बाजे-बराजुले कहाँबाट यो ल्याएका हुन् भन्नेसमेत उक्त परिवारलाई यकिन छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here