अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा, नेपाली अर्थतन्त्रमा कस्तो असर पर्छ?

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसा निर्धारण गरेको छ ।

यसअघि डलर २०७९ कात्तिक ३ गते ऐतिहासिक उचाइमा पुगेको थियो। त्यस दिन एक डलरको भाउ १३३ रुपैयाँ १४ पैसा पुगेको थियो।

पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ । विश्वबजारमा अमेरिकी डलरप्रतिको आकर्षण बढेसँगै नेरु कमजोर हुन थालेको हो ।

भारतीय मुद्रा कमजोर हुँदा डलर महँगिएर नेपाली रुपैयाँ सबैभन्दा सस्तो स्तरमा झरेको हो। नेपाली रुपैयाँ र भारतीय मुद्राबीच स्थिर विनिमय दर छ। नेपाली १६० रुपैयाँ बराबर भारु १०० रुपैयाँ छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै अमेरिकी डलरको बलियो बन्दै गइरहेको छ । रुस–युक्रेन युद्धका कारण अमेरिकी डलरको माग उच्च हुँदा यसको भाउ पनि बढ्दै गएको हो ।

नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेको छ । अमेरिकी डलरको भाउ उतारचढाव हुँदा भारुको मूल्य कमजोर हुँदा त्यसको सोझो प्रभाव नेपाली रुपैयाँमा पर्ने गरेको छ ।

विदेशमा रहेका नेपाली कामदारहरुले रेमिट्यान्स डलरमा पठाउँछन् । डलरको भाउ बढ्दा रेमिट्यान्समा पनि केहि बृद्धि हुन्छ ।

नेपाल राष्ट्र बैंकको जेठसम्मको तथ्यांकअनुसार नेपालमा ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ।

त्यस्तै डलरको भाउ बढेसँगै पर्यटन क्षेत्र पनि राम्रो हुनेछ । नेपालमा आउने विदेशी पर्यटकले डलर बोकेर आउँछन् र खर्च गरेर जान्छन् ।

अब डलरको भाउ बढ्ने वा घट्ने भन्ने कच्चा तेलको मूल्यमा भर पर्ने विज्ञ बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here